कृषि उत्पादनलाई सहकारी मार्फत बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता नगरपालिकाका मेयर शालिकराम अधिकारीले जनाउनु भएको छ ।
इन्सेक बर्दियाको आयोजनामा असार ११ गते बासगढीमा आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा किसानहरू बासगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले कृषकहरू व्यवशायीक रुपमा तरकारी तथा फलफुल उत्पादन गर्ने गरेको भएपनि बजारीकरण हुन नसक्दा कृषकहरू मर्का पर्ने भएकाले बजारीकरणले व्यवशायलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनु भयो ।
बाँसगढी नगरपालिकाले आफ्ना नागरिकहरूलाई कृषि पेशाबाटै आर्थिक रुपमा बलियो बनाउन कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको मेयर अधिकारी बताउनु भयो । उहाँले कृषि कार्यका लागि गुणस्तरिय बीउ, रसायनिक मल र सिचाईको व्यवस्था गर्न सङ्घ, प्रदेश सरकारसँग समन्वय र पहल भइरहेको बताउनु भयो ।
कार्यक्रमका सहभागिहरूले आफुहरूको मुख्य पेशा कृषि भएको र बजारीकरण अभावमा पेशा सङ्कटमा रहेकाले बजारीकरणको पहल नगरपालिकाले गर्नुपर्ने बताएका थिए । यसैगरी, संविधानका मौलिक हकको रुपमा रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बारेमा विभिन्न सवाल उठाउनु भएको थियो ।