INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

१ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते वीरेन्द्रनगर सुर्खेतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) को संयुक्त आयोजनामा वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा आयोजना गरिएको कार्यक्रममा श्रमिक महिलाहरू महिला र पुरूषबीच असमान ज्याला भएको कुरा बताएका थिए ।

कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले विभिन्न समस्याहरू समाधान गर्न महिलाले पहलकदमी लिनुपर्ने बताउनुभयो । सूचना र प्रविधिमा पहुँच बढाउन र सीप सिकेर रोजगार बन्न कार्यमा महिलाहरू अग्रसर भएमा आफूले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

20210308 skt 2

कर्णाली प्रदेश सभाले महिलालाई उच्च शिक्षाको लागि छोरी बुहारी छात्रवृत्ति, वाल विवाह न्यूनीकरणको लागि वैंक खाता छोरीको सुरक्षा जीवन भरीको जस्ता नीतिहरू पारीत गरेर हाल कार्यान्वयनमा रहेकोले यसको उपयोग गर्न महिलाहरूलाई आग्रह समेत गर्नुभयो ।

यस्तै आलोपालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगत विसीले महिलाहरू घरमुली बन्ने र बनाउने कुराले महिला नेतृत्व स्थापित गर्ने बताउनुभयो ।

वीरेन्द्रनगर नपा–११ का वडा सदस्य त्रीप्ती विकले महिलाहरूलाई सीप प्रदान गर्नको लागि वडासँग समन्वय गरेर पहल गर्ने बताउनुभयो ।

मानव अधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माले कुनै पनि सफलताका लागि निरन्तर सहयोग र महिलाले महिलालाई नै सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन हुरेकका कार्यसमिति सदस्य मिना आचार्यले गर्नुभएको थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै इन्सेकका अभिलेख अधिकृत टीका विष्टले ८ मार्चको ऐतिहासिक महत्व र नेपाली महिलाहरूको अवस्थाकाबारेमा सहभागीलाई अभिमुखीकरण गर्नुभएको थियो ।

20210308 skt 1
इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देबकोटाले महिला सशक्तिकरणको निम्ति शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

नारायण नगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र स्थानीय गैर सरकारी संस्थाहरू संयुक्त आयोजनामा फागुन २४ गते दैलेखमा भएको खुलासभामा उहाँले सो धारणा राख्नुभएको हो ।

‘महिलाहरुलाई शिक्षामा अगाडि बढाउन सकेमा मात्र चेतना, क्षमता र आत्मनिर्भर बनाउन जरुरी छ’ सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले आवश्यकता दर्शाउनुभयो ।

नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर चालिसेले राजनीतिक जागरणले महिला सशक्तिकरण बढेको तर सरकारले महिलाहरूलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका तप्ता थापा, नेपाल महिला संघका केन्द्रीय सदस्य निर्मला खड्का, सामाजिक विकास कार्यालयका निमित्त प्रमुख लिलाराम सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

गणेशचोकबाट सुरू भएको र्‍यालीले नगरपरिक्रमापछि टुडिखेल पुगेर खुलामञ्चमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा म्यूजिकल चियर, घैंटो फुटाउने खेल र साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो
बाल विवाह गरेको कारण महिलाले खेप्नु परेको अभाव, असहजता र पढाई रोकिनेदेखि आर्थिक कठिनाई र घरेलु हिंसा जस्ता समस्या झल्काउने विषयमा राइजिङ्ग डान्स क्लवले नाटक प्रस्तुत गरेको थियो ।

20210308 Dailekh

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार  महिलालाई अवसर दिने हो भने जुनसुकै जिम्मेवारी पनि सफलता पुर्वक निर्वाह गर्न सक्ने वक्ताहरूले जोड दिएका छन् ।

१ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा इन्सेक सल्यान लगाएत विभिन्न संघसंस्थाद्वारा सदुरमुकाम खलङ्गामा आयोजित कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँइले राज्यका हरेक ठाउँमा महिलाको उपस्थिति भएपनि पुरूषले गर्ने जति काम महिलाले गर्न सक्दैन भन्ने सोच अझै पनि समाजमा रहेको बताउनुभयो ।

लैङ्गिक समानताका लागि संविधानमा व्यवस्था भएपनि कार्यान्वयनमा समस्या देखिएकोले सामाजिक सोच र कुसंस्कारका कारण ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरूले हिंसा भोग्नु परेको उहाँको भनाई छ ।

यस्तै शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतले अझैपनि महिलालाई हेर्ने दृष्टीकोणमा परिवर्तन नआएकोले घरदेखी सार्वजनिक स्थलमा समेत महिलामाथी विभेद हुनेगरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले महिला हिंसाका घटना र प्रकृतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मिना बुढाथोकी लगाएत विभिन्न संघ संस्थाका व्यक्तिहरूले भनाई राख्नुभएको थियो ।

20210308 Salyan

अन्य

भिडियो