INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १४ गते बुद्धशान्ति गाउँपालिकामा खाद्य अधिकारका सवालमा कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र तथा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेकद्वारा गठित बुद्धशान्ति गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्यमा गाउँपालिका कृषि शाखा प्रमुख, पशुपंक्षी विकास शाखा प्रमुख र कृषकबिच खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश संयोजक सोमराज थापाले नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेकोले स्थानीय सरकारले खाद्य सुरक्षामा ध्यान दिनुपर्ने बताउनु भयो ।

अन्तरक्रियामा कृषि विकास शाखा र पशुपंक्षी विकास शाखाले गरेका काममा बारेमा कृषकहरूले गुनासो गरेका थिए ।

बुद्घशान्ति गाउँपालिका–१ का कृषक खिलनाथ गौतमले गाउँपालिकाले ल्याउने भनिएको घाँस प्याकेज कृषकले नपाएको, स्ल्यास् मेशिनबाट सर्वसाधारण कृषकले सेवा प्राप्त गर्न नसक्ने बताउनु भयो । उहाँले गाउँपालिकाले दिने सेवा सुविधा, बजेट विनियोजन गरेको विषयमा कृषकलाई जानकारी नहुने गुनासो गर्नु भयो ।

वुद्धशान्ति गाउँपालिका– २ का कृषक यदु अधिकारीले विउ विजन आएको जानकारी नहुने, कुन कृषकले के पाउने मूल्याङ्कन नहुने बताउनु भयो ।

वुद्धशान्ति गाउँपालिका–३ की यानुमाया न्योपानेले स्थानीय सरकारको नीति तथा कार्यक्रम स्पष्ट नभएको, समूह बाहिर भएका ६० प्रतिशत कृषकले सेवा सुविधा नपाएको भन्दै खातामा खेती गर्नेले मात्रै गाउँपालिकाको सेवा सुविधा पाउने गरेको गुनासो गर्नु भयो ।

वुद्धशान्ति गाउँपालिका–४ का कृष्णप्रसाद रेग्मीले दूधजन्य पदार्थ उत्पादन गर्ने किसानलाई उपेक्षा गरिएको बताउनु भयो ।

वुद्धशान्ति गाउँपालिका–७ का कृषक खगेन्द्र गड्तौलाले उत्पादनशील जमिनलाई प्लटिङ्ग गरेर अव्यवस्थित बनाएको भन्दै स्थानीय सरकारलाई रोक्न आग्रह गर्नु भयो ।

कृषकहरूको गुनासोलाई सम्बोधन गर्दै, कृषि विकास शाखाका प्रमुख कृष्ण ढुङ्गेलले गाउँपालिकाले कृषि व्यवसाय प्रर्वद्धन ऐन,२०७५ ल्याई कार्यान्वयन गर्न शुरू गरेको बताउनु भयो ।

बुद्धशान्ति गाउँपालिकाले वडा–३ लाई धान सुपरजोन, रबर जोनमा समावेश गरेको साथै विभिन्न वडालाई तरकारी उत्पादनको लागि ब्लक, पकेट कार्यक्रम च्याउ, उत्पादन गर्ने कृषकलाई दश लाख रुपियाँ अनुदान दिने कार्यक्रम ल्याएको बताउनु भयो । कार्यक्रममा उठेका सवाल  गाउँपालिका समक्ष राख्ने प्रतिबद्घता जनाउनु भयो ।

पशुपंक्षी विकास शाखाका प्रमुख कैलाश सिंहले गाउँपालिकाले कृषकका मागलाई ध्यानमा राखेर ३५ लाख रुपियाँमा घाँस प्याकेजिङ्ग गर्ने स्ल्यास मेशिन ल्याउन लागेको बताउनु भयो । साथै पुशको गोबर जाँच,पिपिआर खोप सञ्चालन,बाख्रा प्याकेट प्रोग्राम कार्यक्रम भईरहेको बताउनु भयो ।

मानव अधिकार समूह बुद्धशान्ति गाउँपालिकाकी अध्यक्ष देवकुमारी शेर्माले गाउँपालिकाले कृषकका समस्यालाई समाधान गर्न तत्परता देखाउनु पर्नेमा जोड दिनु भयो ।

Photo 20210226 (1) Photo 20210226 (2)

अन्य

भिडियो