“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको आयोजना र इन्सेकद्वारा नगरपालिकामा गठित मानव अधिकार समूहको संयोजनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत शिक्षाको अधिकारका सवालमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्य दिलिप गुरुङ्गले शिक्षा क्षेत्रमा आएको समस्याहरूका सवालमा इन्सेकले उठाएका मुद्दा नगरपालिकाले समाधान गर्न पहल गर्ने बताउनु भयो ।
पत्रकार रमेश समदर्शीले कक्षा एकदेखि पाँचसम्म दिने भनिएकोे दिवा खाजा कार्यक्रम विद्यालयले किन नपाएको भनी प्रश्न गर्नु भयो ।
विद्यार्थी सविना विश्वकर्माले दलितलाई निःशुल्क भने पनि ११ र १२ कक्षामा शुल्क तिर्नुपरेको गुनासो गर्नु भयो ।
शिक्षक सङ्गठन अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले अर्जुनधारा नगरपालिकाले विगतमा शैक्षिक घोषणापत्र जारी गरेर त्यसको पालना नगरेको बताउनु भयो ।
उहाँले शिक्षा क्षेत्रमा नगरपालिकाले बजेट नै कम विनियोजन गर्ने र विनियोजित बजेट पनि आधा मात्रै खर्च गरेको गुनासो गर्नु भयो ।
विद्यार्थी झुमा घिमिरेले नगरका विद्यालय छात्रामैत्री र अपाङ्गमैत्री नभएको बताउनु भयो ।
विद्यार्थी दीक्षा सिटौलाले शिक्षक समयमा नआउने, पटक पटक शिक्षक परिवर्तन हुँदा पढाइमा समस्या हुने गरेको बताउनु भयो ।
शिक्षा शाखाकी प्रतिनिधि समीरा दाहालले यस वर्ष नगरपालिकाले विद्यालय शैक्षिक साम्रगी कार्यक्रम, कक्षा कोठा सुधार, बालकक्षा शिक्षक प्रोत्साहन, विद्यालय कर्मचारी कार्यक्रम र विद्यालय भौतिक सुधार योजना ल्याएको बताउनु भयो ।
मानव अधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द सुवेदीले बालबालिकालाई बालमैत्री वातावरणमा पढ्ने व्यवस्था मिलाउन नगरपालिकासँग आग्रह गर्नु भयो ।
शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको इन्सेक सहजकर्ता राजन राईले बताउनु भयो ।
