अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार रक्षकहरूको अवस्था र शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारमा कोभिड–१९ ले पारेको प्रभाव विषयक छलफल कार्यक्रममा मानव अधिकारका विविध आयामबारे अन्तरक्रिया गरिएको छ ।
इन्सेकद्वारा गठित मानव अधिकार रक्षकहरूको सञ्जालको आयोजना तथा इन्सेक सुर्खेत, एनसीइ नेपाल, सुन्दर नेपाल संस्था, गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेश समिति र वामको सहकार्यमा मंसिर २५ गते वीरेन्द्रनगरमा सम्पन्न छलफल कार्यक्रममा सहभागीहरूले कोभिडको कारण कर्णाली प्रदेशको शैक्षिक अवस्था लथालिङ्ग, स्वास्थ्य सेवा तथा खाद्य अधिकार पूर्ण रूपमा प्रभावित भएको चर्चा गर्दै यसतर्फ स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

सहभागीहरूले कोभिडको कारण कर्णाली प्रदेशको मानव अधिकार रक्षकहरूको अधिकार संकुचित भएको, शिक्षा स्वास्थ्य तथा खाद्य अधिकार सुनिश्चित गर्नेतर्फ राज्यले कुनै पहलकदमी नगरेको, कोरोना संक्रमितहरूको उपचारमा राज्य उदासिन बनेको र अन्य रोगका बिरामीहरूले उपचार पाउन नसकेको उल्लेख गरेका थिए ।
मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पिताम्बर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य दिपेन्द्र डिसी, दलित गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव नारायण विक, सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेल, वामका कार्यकारी निर्देशक मधुरानी ढकाल, किर्डाक नेपालका व्यवस्थापक नवीन शाही, शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापा, अधिकारकर्मी चम्पा विक र सञ्चारकर्मी लक्ष्मी भण्डारीले धारणा राख्नु भएको थियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय राजनीति शास्त्रका सहप्राध्यापक तथा स्कुल अफ लका निर्देशक अर्जुन बहादुर ऐडीले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारमा कोभिडले पारेको प्रभाव र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले कर्णाली प्रदेशको मानव अधिकार रक्षकहरूको अवस्था विश्लेषण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा अधिकारकर्मी, नागरिक संस्थाका प्रतिनिधि, प्राध्यापक, कानुन व्यवसायी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
