मानव अधिकारको संरक्षण तथा सम्वद्र्वनका लागि मिडियाकर्मी तथा मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिहरूले बताउनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा चैत १ गते कालिकोटमा आयोजित मिडिया साझेदारी कार्यक्रममा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा संलग्न व्यक्तिलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिका लागि मानव अधिकार रक्षकहहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
कार्यक्रममा मानव अधिकारका सवालहरूमा मिडियामार्फत उठान गर्न मिडियाको भूमिका, मिडियाकर्मीका समस्या अवस्थाका सवालहरूमा छलफल गरिएको थियो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मिडियाले मानव अधिकारसँग सम्बन्धित घटनालाई अझै प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राख्नु भयो ।
इन्सेकको अभिलेख अनुसार सन् २०१९ मा कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ४ सय ८६ जना पीडित भएको इन्सेकका प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भयो । साथै उहाँले सन् २०१८ को तुलनामा सन् २०१९ मा कर्णाली प्रदेशको मानव अधिकार अवस्थामा केही सुधार भएको बताउनु भयो ।
कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक दिलबहादुर चौधरी, इन्सेक कालिकोट प्रतिनिधि कालीबहादुर मल्ल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष तुलाराम पाण्डे, उपाध्यक्ष नमराज योगी, प्रदेश आवाजका अध्यक्ष रत्न कार्की लगायतले बाल विवाह, बलात्कार, घरेलु हिंसाका कारण हुने घटनाहरूका सवाल मिडियाकर्मी र मानव अधिकारकर्मीले उजागर गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

मानव अधिकार समूहसँग प्रदेश कार्यालयको अनुगमन टोलीद्वारा भेटघाट
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीको नेतृत्वमा आएको टोलीले खाँडाचक्र नपामा गठित मानव अधिकार समूहका सदस्यसँग चैत १ गते भेटघाट गरेको छ ।
समूहका अध्यक्ष अविसरा अधिकारीको अध्यक्षता र इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, इएलपीका कार्यक्रम संयोजक दिलबहादुर चैधरीको उपस्थितिमा बसेको बैठकमा खाँडाचक्र नपामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको अवस्थाका विषयमा छलफल भएको थियो ।
बैठकमा हाल विश्वव्यापी फैलिदै गएको नोभेल कोरोना भइरस कालिकोटमा फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मानव अधिकार समूहले पनि सचेतनका लागि गाउँ टोलमा चेतनामूलक जानकारी गराउने निर्णय गरेको छ । यसैगरी समूहले हालसम्म गरेका सम्पन्न क्रियाकलापले समुदायमा पारेको प्रभावका विषयमा समेत छलफल भएको थियो । छलफलका क्रममा मानव अधिकार समूहका सदस्यहरूले समुदायमा देखिएका सवालहरूमा सम्बन्धीत निकायमा माग पत्र प्रस्तुत गरेको बताउनु भयो ।

इन्सेकको अनुगमन टोलीद्धारा सरोकारवाला निकायसँग भेटघाट
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, कार्यक्रम संयोजक दिलवहादुर चौधरी, कालिकोट जिल्ला प्रतिनिधि, सहजकर्ता लगाएतको टोलीले जिल्लाको मानव अधिकार अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्बन्धमा विभिन्न निकायसँग भेटघाट तथा छलफल गरेको छ ।

टोलीले जिल्ला न्यायाधीश माधव सुवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग छुट्टा छुट्टै भेटघाट गरी जिल्लाको मानव अधिकार अवस्थाका विषयमा छलफल गरेको हो । भेटका क्रममा जिल्ला न्यायाधीश सुवेदीले जिल्लामा बालविवाहका घटना बढ्दै गएको बताउनु भयो । साथै उहाँले जातीय विभेद, लङ्गिक हिंसा, दुव्र्यवारका घटना अदालतसम्म नपुग्ने गरेको बताउनु भयो ।
यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी नेपालीले विगतको तुलनामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनमा कमि आएको देखिए पनि ग्रामिण क्षेत्रमा अहिले पनि थुप्रै घटनाहरु गुपचुपमै रहेको बताउनु भयो ।