वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले मानव अधिकारको सवालप्रति नगरपालिका गम्भीर रहेको बताउनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले माघ १५ गते वीरेन्द्रनगरमा आयोजना गरेको “मानव अधिकार संरक्षणका लागि नगरपालिकाका सरोकारवाला बीच मानव अधिकारको मापदण्ड र कर्तव्य विषयक” कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले सो कुरा बताउनु भएको हो ।
मानव अधिकार मैत्री कानुन निमार्णमा वीरेन्द्रनगर नपा लागि परेको चर्चा गर्दै उपप्रमुख ढकालले नगरपालिकाले निमार्ण गरिसकेका कानुनहरू कार्यान्वयन गर्दा मानव अधिकारको सवाललाई प्राथमिकताका साथ पालना गर्नु पर्नेमा जोड दिनु भयो । नागरिक सङ्घ संस्थाहरूको सहकार्य र समन्वयमा मानव अधिकार, हिंसा पीडित, अपाङ्गता, दलित, जेष्ठ नागरिक र महिला मैत्री कानुन निमार्ण गर्न नगरपालिका तत्पर रहेको उपप्रमुख ढकालले उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले आफनो अधिकार खोज्ने सबै नागरिकले कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनु भयो । महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य पवित्रा शाहीले विधीको शासनलाई आत्मसात गरेर स्थानीय तहले मानव अधिकार मैत्री कानुन निमार्णमा लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा वीरेन्द्रनगर नपा–६ का वडाध्यक्ष मोतिप्रसाद कडेंलले जातीय र विपन्नताको आधारमा गरिने भेदभावको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिलाई अझैपनि राज्यले व्यक्तिको रुपमा नहेरेको उल्लेख गर्दै उनीहरूलाई दिईने सेवा प्रवाह सहज नभएको र सबैखाले सुविधाबाट बञ्चित गरिएको गुनासो गर्नुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक ललितजङ्ग शाहीले “वीरेन्द्रनगर नपाको मानव अधिकार कार्यान्वयनका लागि आवश्यकता तथा क्षमता विश्लेषण अध्ययन प्रतिवेदन” प्रस्तुत गरेपछि सहभागीहरूले वीरेन्द्रनगर नपाले विषादीको प्रयोग, नियमित बजार अनुगमन, अपाङ्ग मैत्री भवन निमार्ण, महिला तथा धार्मिक अल्पसंख्यकको सवालमा उल्लेखनीय कार्य गर्न नसकेको बताएका थिए ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले मानव अधिकार संरक्षण सम्बद्र्धनका सवालमा वीरेन्द्रनगर नपालाई मुलुककै उदाहारणीय नपा बनाउने उद्देश्यले इन्सेकले नपासँग सहकार्य गरी अघि बढेको बताउनु भयो । संयोजक सुवेदीले नेपालको संविधानको धारा ५२ ले मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व राज्यको रहेको बताउँदै स्थानीय तहमा रहेका नागरिकका आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक, राजनीतिक र विकासको सम्मान, संरक्षण र परिपूर्ति गर्ने प्रारम्भिक दायित्व स्थानीय तहको भएकोमा जोड दिनु भयो ।
कार्यक्रममा वीरेन्द्रनगर नपाका वडाध्यक्ष, नगर शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका प्रमुख एवम प्रतिनिधि, नागरिक सङ्घ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्देश्य माथि मानव अधिकार अधिकृत सोम प्रसाद चौधरीले प्रकाश पार्नु भएको थियो ।
