अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्याङजाको पुतलीबजार नपा–१३ स्थित लाम्पाटामा नगरपालिका स्तरीय शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी र अभिभावक बीच मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता विषयमा अन्तरक्रिया गरिएको थियो ।
९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुले विद्यालयमा विद्यार्थी र अभिभावकको समस्याबारे बोलेका थिए । कार्यक्रममा बोल्दै विद्यार्थीहरुले खाजा खाने गुणस्तरिय क्यान्टिनको व्यवस्था नभएको, विद्यालयमा होस्टेलको व्यवस्था नरहेको र कुनै कार्यक्रममा विद्यालयको प्रतिनिधीत्व गरेर जिल्लामा जादाँ विद्यालयले शिक्षक प्रतिनिधि नखटाएको गुनासो गरेका थिए ।
यसैगरी विद्यालयका शिक्षक चन्द्रमणि पौडेलले विद्यालयमा आवश्यक शिक्षकको दरबन्दी परिपुर्ति नहुँदा करारमा शिक्षक नियुक्त गरेर विद्यार्थीसगै शुल्क उठाउन बाध्य भएको बताउनु भयो ।
कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यालय आसपासमा रहेका पसलहरुबाट धुम्रपान तथा मद्यपान खुलेआम बिक्रीवितरण हुने गरेकोले विद्यार्थीहरु मदिरा र धुम्रपानमा फस्ने उहाँहरुको भनाई थियो । यस्ता पसलहरुलाई अनुगमन गरी कारवाहीको दायरामा ल्यान अभिभावकहरुले माग राखेका थिए ।
कार्यक्रममा उपस्थित प्रहरी सहायक निरिक्षक यामनाथ बगालेले – ” यसरी विद्यालय वरपर खुलेआम सुर्ती तथा मदिरा किनबेच गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गर्न सकिन्छ । ” भन्ने जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा मातृभुमी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्बराज अधिकारीले आफ्ना छोराछोरीहरुको अवस्था, पढाई लगायतका विषयमा बुझ्न र विद्यालय स्रोतलाई खबरदारी गर्नको लागि अभिभावकहरु बेलाबखत विद्यालयको सम्पर्कमा आउनुपर्नेमा जोड दिनुभयो ।

