इन्सेक प्रदेश ३ कार्यालय अन्तर्गतका विभिन्न जिल्लामा मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १६ गते सम्पन्न भयो । समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि दिपक घिमिरेले ललितपुरमा सङ्कलन गरिएका मानव अधिकार उलङ्घनको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सन् २०१९ को जनवरी १ देखि डिसेम्वर ३० सम्मको अवधिमा हत्याका १६, हत्या प्रयासका १३, बलात्कार तथा बलात्कार प्रयासका ७१, मानव वेचविखन तथा ओसारपसारका २, बहुविवाहका १८, बाल विवाहका १, कारागारमा मृत्यु १, बम बिस्फोट १, शिशु परित्यागका १, अप्राकृतिक मैथुनका १, राज्य बिरुद्धको कसुर २, गर्भपतन १, गर्भ संरक्षण बिरुद्ध १, आत्महत्या दुरुत्साहन १ गरी १ सय ३० ओटा घटना प्रतिवेदनमार्फत सार्वजनिक गरिएको थियो ।

समीक्षामा जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्र कुमार कालाखेतीले इन्सेकले वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गरिनु महत्वपूर्ण भएको बताउनुभयो । उहाँले मानव अधिकार उलङ्घन राज्य पक्षबाट मात्रै हुने भन्दै ऐनले परिभाषा गरे अनुसार जीवन, मर्यादा समानता र स्वातन्त्रासँग सम्बन्धित विषयहरू मानव अधिकार भित्र पर्ने प्रष्ट पाुर्नभयो । उहाँले लागु औषध र चोरीका मुद्दामा बढि बालबालिकाको संलग्नता रहेकाले सो को निराकरणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
महानगरीय प्रहरी परिसर जावलाखेलकी एसपी एवम् प्रवक्ता दुर्गा सिंहले बलात्कारका घटना बढेकोमा अनुसन्धान गर्न आग्रह गर्नुभयो । एसपी सिंहले बलात्कारका घटना बढेको हो कि नागरिक सचेत भएर प्रहरीसम्म पुग्न सकेको हो यो अनुसन्धानको विषय भएकोले मानव अधिकार क्षेत्रमा काम गर्दै गरेको संस्थाले अनुसन्धान गरिदिएमा समाजलाई हित गर्ने बताउनु भयो । उहाँले प्रहरीले सचेत भएर काम गरिरहेको र मातहतका कार्यालय चल्ने इकाईहरूमा मानव अधिकार उल्लङ्घन हुन नदिन विषेश सचेत रहेको बताउनु भयो । कतै यात्रामा जाँदा सामाजिक सञ्जालमा यता जाँदै छु भनी सूचना सार्वजनिक नगरे पनि शान्ति सुरक्षा कायम गर्न र अपराधका घटनामा कमी आउने सुझाव दिँदै सबै मानिसले समय अनुसार आफैमा परिवर्तन गरी अघि बढ्दा मानव अधिकारको रक्षा हुनेमा उहाँले जोड दिनुभयो ।

समीक्षामा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत सीता घिमिरेले मानव अधिकारको प्रत्याभूति गर्न र जनतालाई गुणस्तरीय सामाग्री उपभोग गराउन आफूहरुले समयानुकुल बजार अनुगमन गर्ने गरेको बताउनुभयो । यसै गरी ललितपुर बार एसोसिएसनका अध्यक्ष दिपककुमार विष्टले नेपालको संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको सुनिश्चितताका लागि सबैले आ—आफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस ललितपुरका सचिव रविन्स शर्माले जघन्य अपराधका घटना बाहेक सामान्य मुद्दामा मेलमिलाप हुनुपर्ने जिकिर गर्नुभयो । गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकारामा दाहालले सामाजिक सञ्जालका कारण समाजमा मानव अधिकार उलङ्घनका घटना बढ्दै जाँदा यसको निराकरणको लागि नैतिक शिक्षाको पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।
नुवाकोट
यसै गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्वको वर्षिक समीक्षा कार्यक्रम नुवाकोट जिल्लामा पुस १६ गते सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०१९ मा संकलन भएका घटनाहरु प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । जिल्लामा सन् २०१९ मा बलात्कारका १४, बलात्कार प्रयासका २, यौन दुव्र्यवहारका ५, मानव बेचविखनका ३, बहुविवाहका १३, बालविवाहका ५, गिरफ्तारको ५, बम विस्फोट २ घटना भएको सार्वजनिक गरिएको थियो ।

समीक्षा कार्यक्रममा नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सामाजिक अपराधका घटनाहरु बढ्दै गएकोले मानव अधिकार र कानुनी सचेतनाको लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले विकास भनेको निर्माणको क्षेत्रमात्र नभएकोले स्थानीय सरकारले मानव विकास, सामाजिक विकास, सचेतनाको क्षेत्रका रकम खर्च गर्न ध्यान दिनु पर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्लेले इन्सेकको अभियानले मानव अधिकारको क्षेत्रमा सकारात्मक प्रभाव पारेको भन्दै मानव अधिकारको विषयमा प्रहरी सचेत रहेको र प्रहरी–समुदाय कार्यक्रम गरेर प्रहरीले गाउँ–गाउँमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायधिवक्ता गोपालप्रसाद ढकालले पीडित र पीडकको अधिकार र छिटो छरितो अभियोजन गर्ने कार्यमा कार्यालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले कैदी बन्दीले थुनामा रहँदा पाउनु पर्ने आधारभूत सुविधाबाट नुवाकोट कारागारका कैदीबन्दीहरु बञ्चित रहेको र सरकारले आगामी दिनमा त्यसलाई सुधार्ने आशा व्यक्त गर्नुभयो । न्यायधिवक्ता ढकालले इन्सेकले वर्ष पुस्तकमा बालश्रमको अवस्था बारे पनि अध्ययन अनुशान्धान गरी समेट्न पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार शिवप्रसाद बन्जाराले कानूनले दिएको अधिकारहरु पालना गरी अदालतले काम गरिरहेको र मानव अधिकारप्रति अदालत संवेदनशील रहेको बताउनुभयो । कार्यक्रममा नुवाकोट जिल्ला अदालत बारका अध्यक्ष देवराज कँडेलले समाजमा कतिपय घटनाहरु अझै पनि न्यायिक निकायमा नआएकोले यस्ता घटनाहरु भइरहेको बताउनुभयो ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष बाबुरा लामिछाने, उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, मानव अधिकार एलायन्सका अध्यक्ष गोकर्ण नेपाल, आदिवासी जनजाती महासंघका अध्यक्ष भगवान रानामगर, प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्रका कार्यक्रम संयोजक सीताराम पौडेललगायतले मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा सबै पक्ष सचेत हुनु पर्ने बताउनुभयो ।
रसुवा
नेपाल मानव अधिकार वर्षपुस्तक २०२० का लागि संकलित घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको प्रमुख अतिथ्यमा पुस १४ गते सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवालाहरुले मानव अधिकार उलङघन तथा ज्यादतीका घटनाका पीडितहरु सुरक्षा तथा न्यायको ढोकासम्म पुग्न नसकेकोले जाहेरी नपरेका तर जानकारीमा रहेका घटनाहरु पनि पुस्तकमा समेटिनुपर्ने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले मानव अधिकार संरक्षणमा सबै पक्ष लाग्नुपर्ने, राज्य तथा सुरक्षा निकायले मात्र नभइ राजनीतिक दल, स्थानीय सरकारले पनि मानव अधिकारको उलङ्घन गर्ने बताउनुभयो । उहाँले धम्की चन्दा असुली जस्ता घटनाहरु पनि वर्षपुस्तकमा समेटन्पर्ने बताउनुभयो । प्रहरीले कुटपीट गरेको घटनाको छानविन समितिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पेस भएको र घटनाका आरोपितलाई निलम्बन तथा विभागिय कारवाही गरिएको उहाँले बताउनुभयो ।
जिल्ला अदालतका स्रेस्तेतार सुदन अधिकारीेले वर्तमान कानुन अनुसार घरेलु हिंसाका घटनाहरु अदालत तथा गाउँपालिकाहरुमा मेलमिलाप केन्द्रान छलफल हुने र १ वर्षसम्म लाग्ने बताउनुभयो । अधिवक्ता फुर्पा तामाङले मानव अधिकारकर्मीले प्राप्त मानव अधिकार उलङ्घनका घटनाहरु पनि प्रकाशन गर्नु पर्ने बताउनुभयो । पत्रकार जयराम आचार्यले सरकारी संरचनामा उजुरी नपरेका सूचना पुष्टि नहुने र प्रकाशनमा ल्याउदा समस्या हुने बताउनुभयो ।
इन्सेक रसुवा जिल्ला प्रतिनिधीले हेमनाथ खतिवडाले वर्षपुस्तकको लागि संकलन भएका घटनाहरुको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदन अनुसार रसुवा जिल्लामा अपहरण १, बलत्कार ३, बलत्कार प्रयास २, कुटपीट २, दुव्र्यवहार २ , बहुबबिाह ४ गरी १४ घटना घटना समावेश भएको जिल्ला प्रतिनिधि खतिवडाले बताउनुभयो ।