INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम भोजपुर सदरमुकाममा पुस १५ गते सम्पन्न गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधिले सन् २०१९ को जनवरी १ देखि डिसेम्वर ३१ सम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना प्रस्तुत गर्नु भयो ।

जसमा बलात्कारका १५ ओटा, बलात्कार प्रयासका नौ ओटा, हत्याका १० ओटा, घरेलु हिंसाका १३ ओटा, कुटपिट तथा गालीगलौजका ७ ओटा, बहुविवाह १० ओटा, गिरफ्तारीका पाँच ओटा र भौतिक संरचना क्षतिका ६ ओटा घटना सार्वजनिक गरिएको छ ।

समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको मानव अधिकारको वास्तविक अवस्था देखाएको बताउनु भयो । उहाँले इन्सेकले अबका दिनमा स्थानीय तह सम्म पुगेर पालिकागत हिसाबले तथ्याङ्क सङ्कलन गरे अझै मानव अधिकारको अवस्थाका विषयमा मिहिन ढङ्गबाट जानकारी हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले  इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र बिग्रदो अवस्थामा रहेकाले सबै एकजुट भएर समस्या समाधानका लागि लाग्नुपर्ने बताउनु भयो । उहाँले भोजपुर बाहेक अन्य केही जिल्लामा पनि यस्तो कार्यक्रममा सहभागी भएको बताउँदै अझै विश्वासीलो बनाउनको लागि घटनाको गहिराईमा पुग्नु पर्नेमा जोड दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामी मगरले प्रहरी सधैँ मानव अधिकारको क्षेत्रमा लाग्न प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले जिल्लामा मानव अधिकारको प्रत्याभूतिका निमित्त सुरक्षाको काममा तदारूकताका साथमा लागिरहेको बताउनु भयो ।

मानव अधिकारकर्मी तथा सामुदायिक सेवाकेन्द्र भोजपुरकी अध्यक्ष लीलामाया तामाङले जिल्लामा बालिका तथा महिला बलात्कारका घटना प्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

त्यस्तै सञ्चारकर्मी निरोज कैरलाले समुदायमा हुने मानव अधिकारका विषय उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्वूर्ण हुने भएकाले मानव अधिकारका विषयमा कलम चलाउँदा सम्वेदनशील भएर काम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा सहभगीहरूले जिल्लामा सेफ हाउस नहुँदा पीडितको संरक्षणमा समस्या भएकोले यस तर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

Photo 20191231 Bhojhapur (1)

Photo 20191231 Bhojhapur (2)

अन्य

भिडियो