INSEC Online

📅 २०८३ जेष्ठ २२

शिक्षा सुधारका लागि दरबन्दी बमोजिम शिक्षक व्यवस्था गर्न अभिभावकको माग

संविधानले शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेपनि सामुदायिक विद्यालयमा विषयगत र दरबन्दीअनुसारका शिक्षक नहुँदा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किएको अभिभावकहरूले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १,कार्यालय विराटनगर,धनपाथान गाँउपालिका र मानव अधिकार निगरानी समूह धनपालथानले पुस १५ गते आयोजना गरेको शिक्षा,स्वास्थ्य र खाद्य अधिकार विषयक टेलिभिजन सम्वाद कार्यक्रममा अभिभावकले जिम्मेवार निकायका प्रमुख तथा सरोकारवालाहरू समक्ष सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किएकोमा गुनासो गरेका हुन् ।

सम्वाद कार्यक्रममा बोल्दै धनपालथान गाँउपालिकाका किसानले सरकारले खुल्ला सिमाना नियन्त्रण नगर्दा आफूहरूले उत्पादन गरेको अनाज कम मूल्यमा विक्री गर्नुपरेको गुनासो गरेका छन् । उनीहरूले भारतीय अनाज खुल्ला सिमानाका कारण सजिलै नेपाल आउने र नेपाली किसानले उत्पादन गरेको अनाजले बजार नपाउने गुनासो बताए । नेपाली किसानले उत्पादन गरेको अनाजको मूल्य सरकारले समयमै तोकि सोही अनुसार विक्री वितरणको व्यवस्था मिलाउन समेत सरकार समक्ष माग गरेका छन् ।

धनपालथान गाँउपालिका–१ का ४३ वर्षीय किसान श्याम देवानले ८५ प्रतिशत नागरिक कृषिमा आधारित रहेपनि उत्पादित वस्तुले मूल्य पाउन नसकेको बताउनुभयो । धनपालथान –६ की ४४ वर्षीया अश्विनी मण्डलले खुल्ला सिमानाका कारण कृषकहरू समस्यामा परेको बताउनुभयो ।

टेलिभिजन सम्वाद कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष नरेश पोखरेलले सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव रहेको स्वीकार गर्नुभयो । उहाँले आधारभूत तहको कक्षा १ देखि ५ सम्म दरबन्दी भन्दा बढी शिक्षक भएपनि कक्षा ६ देखि १२ सम्म शिक्षक अभाव रहेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो । धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले सम्वन्धित निकायले अधिकार नदिँदा शिक्षामा देखिएको समस्या समाधान गर्न असहज भएको गुनासो गर्नुभयो ।

सो अवसरमा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्केको, शिक्षा नीति कार्यान्वयन हुन नसकेको, नियमति रूपमा पठनपाठन नभएको, स्थानीय सरकारले कृषिका क्षेत्रमा लगानी नगरेको, बीऊविजनको समस्या, आकाशे भरमा खेती गर्नुपर्ने, स्वास्थ्य संस्थामा औषधिको अभाव लगायतका विषयमा सरोकारवाला समक्ष सेवाग्राहीले गुनासो राखेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारले कन्जुस्याँई नगरेको बताउनुभयो । धानपालथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषि महासेठले स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रवाह गरीरहेको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा ६ ओटा स्वास्थ्य संस्थाबाट २६ हजार नागरिकले स्वास्थ्य सेवा लिएको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले अवैध रूपमा भित्रने सामान नियन्त्रणका लागि प्रहरी प्रतिबद्ध भएको बताउनु भयो । कार्यक्रममा धनपालथान गाउँपालिका उपाध्यक्ष नसीमा वानु, शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत शालिकराम दाहाल, धनपालथान गाउँपालिका शिक्षा शाखा प्रमुख ऋषि कोइराला लगायतले जिज्ञासाको जवाफ दिनुभएको थियो ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई जनतासम्म पुयाउने उद्देश्यले कार्यक्रम गरिएको इन्सेक प्रदेश १,संयोजक सोमराज थापाले बताउनुभयो । धनपालथानमा एक वर्षदेखि मानव अधिकार निगरानी समूह बनाएर कार्यक्रम सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

 

अन्य

भिडियो