जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले एक वर्ष भित्र सुकुमबासी मुक्त नगर बनाउने बताउनु भएको छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) बागलुङले पुस १० गते जैमिनी नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा आयोजना गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
जैमिनी नगरपालिकामा रहेका सुकुम्बासीहरुलाई चालु आर्थिक वर्ष भित्र आवास निर्माण गरी लालपुर्जा समेत वितरण गर्ने पौडेलले बताउनु भयो ।
कार्यक्रममा महिला विकास कार्यालयकी पूर्व अधिकृत तथा अधिवक्ता लक्ष्मी जिसी कार्कीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले नगर भित्र रहेका महिला तथा बालबालिकाहरुको समस्यालाई समाधान गर्नका लागि र उनीहरूलाई सुरक्षा प्रदान गर्नका लागि नगरपालिकाले आफ्नै सेवा केन्द्र सञ्चालनमा ल्याउनु पर्ने उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले सरकारले प्रदान गर्ने हरेक सेवा सुविधाहरू नगरका बालबालिका र विद्यालयहरूमा प्रदान गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।




