नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सुनिश्चितता गरेको भएपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति अझै पनि हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), डडेल्धुराद्वारा पुस ६ गते आयोजित शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका विषयमा छलफल तथा मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रमका सहभागिहरूले उक्त गुनासो गरेका हुन् ।
कार्यकममा बोल्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, डडेल्धुराका सचिव हिक्मतबहादुर सिंहले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका बारेमा सरकारले कानुन कार्यान्वयन गर्न नसकेको बताए । संविधानले मौलिक हकका रूपमा स्थापित गरेका अधिकारहरूलाई प्रत्येक नागरिकले उपभोग गर्न पाउने स्थितिको सिर्जना र व्यवस्था गर्न अहिलेको प्रमुख चुनौती रहेको उहाँले बताउनु भयो ।
चाडपर्वको समयमा मात्र बजार अनुगमन हुने र अन्य समयमा नहुने परिपाटीको अन्त्य गरी सम्बन्धित निकायले नियमित अनुगमन गर्नु पर्ने बताउँदै इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारका घटनाहरूलाई प्रथमिकताका साथ अभिलेखिकरण गरी प्रकाशित गरेमा वर्ष पुस्तकको विश्वसनीयता अझै बढ्ने महासङ्घका सचिव सिंहले बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तकले राज्य र अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई प्रकाशत गर्ने गरेकाले वर्ष पुस्तकको विश्वसनीयता बढ्दै गएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनु भयो ।
भौगोलिक विकटताका कारण शिक्षा, स्वास्थ्य तथा खाद्य क्षेत्रमा काम गर्न जटिल रहेको उल्लेख गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी ओझाले जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी दोषीलाई कारवाहीको दायारामा ल्याउनेसमेत प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले घरेलु हिंसाका घटनाहरू बढी मात्रामा दर्ता हुने गरेको र पछि घर परिवारबाटै मिलापत्रका लागि दबाब दिने गरेको बताउँदै जघन्य प्रकारका मुद्दाहरूलाई मिलापत्र गर्न दबाब आएपनि कानुनी प्रक्रिया अनुसार नै अगाडि बढाउने गरेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि भुपेन्द्र बिष्टले सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ९७ ओटा घटनाहरू अभिलेख गरेको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
