INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेकले पुस ५ गते वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्न इन्सेकले खेलेको भुमिकाप्रति जनताले गरेको विश्वसनीयताको बिरासतलाई कायम राख्न इन्सेक प्रतिबद्ध भई लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सुर्खेतमा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरूको समीक्षा कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले सो कुरामा जोड दिनुभएको हो ।

वीरेन्द्रनगर नपा न्यायिक समितिकको संयोजक समेत रहनु भएकी उपप्रमुख ढकालले मानव अधिकारको संरक्षण, सम्बद्र्धन, पालना र परिपुरण गराउने प्रमुख दायित्व राज्यको रहेको उल्लेख गर्नुभयो ।

स्थानीय तह, प्रशासन, नागरिक सङ्घसंस्था र आम नागरिकको समन्वय र सहकार्यले मात्र सुशासन कायम भई मानव अधिकारको संरक्षणमा टेवा पुग्ने उपप्रमुख ढकालले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदम लामिछानेले मानव अधिकार उल्लङ्घन र ज्यादतिका जुनसुकै घट्ना सत्यमा आधारित भएमा मात्र पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन सहज हुने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर भरतबहादुर शाहले जिल्लामा सरकारवादी फौजदारी घटनाका पीडितहरू होस्टायल हुने क्रमलाई रोक्न पीडितहरूलाई मिसिलसँगै अदालत बुझाउनु पर्ने अवस्था आएको बताउनुभयो ।

जिल्ला बार एसोसिएसनका उपााध्यक्ष टोपबहादुर वलीले कुनैपनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा होस्टायल हुने र गराउनेलाई कडा कारवाही गर्नुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेलले महिला हिंसाका साथै पुरूष हिंसामा परेका घटनाहरूलाई वर्ष पुस्तकमा समेटनुपर्ने उल्लेख गर्नु भयो ।

दृष्टिविहीन बसन्त जैसी र राष्ट्रिय अपाङ्ग महासंघकी निर्मला खत्रीले अपाङ्गता भएकाहरूको मानव अधिकार सुनिश्चित गर्न सबै पक्ष चनाखो बन्नुपर्ने औँल्याउनु भयो ।

दलित सेवा सङ्घ सुर्खेतका उपाध्यक्ष टेकेन्द्र बिकले जातीय विभेदका घटनाहरूलाई प्राथमिकताका साथ वर्ष पुस्तकमा समेटनु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले इन्सेकले सङ्कलन गरेका घटनाहरूको विश्वसनीयता र तथ्यपरकताका लागि प्रकाशन पुर्व समीक्षा गर्दै आएको बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले कार्यक्रममा राज्यपक्षबाट आठ ओटा र अन्य पक्षबाट १ सय २ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।

जसमा राज्य पक्षबाट कुटपिटका दुई र गिरफ्तारीका ६ ओटा घटना छन् । त्यसैगरी बलात्कारका १६, भौतिक संरचना क्षतिका तीन, बाल अधिकारसम्बन्धी आठ ओटा, हत्याका ६ ओटा र घरेलु हिंसाका ७८ ओटा घटना रहेका छन् ।

photo20191221surkhet (1)

photo20191221surkhet (2)

photo20191221surkhet (3)

photo20191221surkhet (4)

अन्य

भिडियो