नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते तौलिहवामा गरिएको छ ।
२०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सरोकारवालाका माझमा प्रस्तुत गरिएको हो ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार हनन् तथा ज्यादतीका घटनाका विषयमा प्रतिवेदन पेश गर्नु भएको थियो ।
यस वर्ष राज्य पक्षबाट एक जनाको गोली हानी हत्या भएको, अन्य पक्षबाट चार जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी एक जना महिलाको बलात्कारपछि हत्या भएको घटनासमेत प्रतिवेदनमा समावेश गरिएको आचार्यले बताउनुभएको छ ।
त्यसैगरी १३ जना बालिका र पाँच जना महिला बलात्कार घटना, एक जना महिला यौन दुव्र्यवहार घटनाबाट पीडित भएको उल्लेख गरिएको छ ।
मानव बेचबिखनका दुई, जातीय विभेदको एक, घरेलु हिंसाबाट १ सय ६५ जना सहित २ सय ५ जना पीडित भएको प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ लामिछाने इन्सेकले हरेक वर्ष पुस्तक प्रकाशित गर्नु पुर्व समीक्षा गर्नाले पुस्तकमा समावेश हुने घटना सत्यतथ्य र विश्वासनीय हुने बताउनु भयो ।
निमित्त सरकारी वकिल रमेश पोखरेलले केही घटनामा फलोअफ गर्नु पर्ने भन्दै सत्यतथ्य सूचना मात्र प्रकाशन गर्न सुझाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले अधिकांश घटना प्रतिवेदनमा समेटिएको भन्दै फलोअफ गर्नु पर्ने घटनाहरू भए प्रहरीले पनि सहयोग गर्ने बताउनु भयो ।


