देशका तीन तहका सरकार तीन तिर हिँड्दा विकास निर्माणको काम प्रभावित बनेको भन्दै नागरिक अगुवा र सञ्चारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले प्रतिफल पाउने बेला सोचे अनुसार विकास हुनै नसकेको बताए ।
जनप्रतिनिधि नागरिक समाजसँग नजिकिने भन्दा पनि टाढा हुँदै गएको आभास भएको साझा सभाका संयोजक तथा वार एसोसिएसनका स्थानेश्वर दवाडीले बताउनुभयो ।
‘गोरखाको सन्दर्भमा हामीले जनप्रतिनिधिलाई घच्घच्याइरहेका छौँ । कति सफल कति असफल ? समीक्षा गरेर अघि बढ्नुपर्ने छ ।’–दवाडीले भन्नुभयो ।
सडक, विद्युत, खानेपानी जस्ता आधारभुत विकासका काम भएपनि निकै सुस्त तवरले भएकोमा नागरिक अगुवाको असन्तुष्टी छ ।
मध्यपहाडी सडक, १२ किलो भालुस्वारा वारपाक सडक निर्माणको प्रगति र राष्ट्रिय गौरवको रूपमा रहेको आयोजना बुढीगण्डकी निर्माणको विषय अन्यौलमा हुनु दुखद् रहेको उहाँहरूको तर्क छ ।
सङ्घीयतापछि देश विकासले सोचेअनुसार फड्को मार्न नसकेको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सिताराम श्रेष्ठले बताउनुभयो ।
विकासको प्रतिफल पाउने बेला जनता दुःख र पिडामै रहेको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो–‘‘यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने देखेका छौँ ।’
नागरिक समाज र सञ्चार जगतले आफ्नो आवाज बुलन्द बनाउन नसके जुनकुनै सरकार झनै स्वेच्छाचारी हुँदै जान्छ ।
‘विकासमा सरकार जिम्मेवार बन्नै पर्छ । जनताले चुनेपछि जे गरेपनि हुन्छ भन्ने मानसिकता जनप्रतिनिधिले राख्नुहुँदैन ।’–श्रेष्ठले भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष किशोरजङ्ग थापाले तीन सरकार तीन तिर हिँड्ेको आरोप लगाउँदै स्थानीय, प्रदेश र सङ्घीय सरकार नागरिक समाज प्रति जबाफदेही नबनेको बताउनुभयो ।
‘विकासका काममा जिम्मेवार बनाउन दबाबमुलक तवरले प्रस्तुत हुनुपर्ने आवश्यकता आएको छ ।’–थापाले भन्नुभयो ।
जिल्लामा देखिएका विकृति बिसङ्गतिका विरूद्घ आवाज उठाउन सञ्चारकर्मी र नागरिक समाजले प्रशंसनीय भूमिका खेलेको मानव अधिकार तथा शान्ति समाजका उपाध्यक्ष सिताराम तिवारीले बताउनुभयो ।
काम नगर्ने ठेकदार नै सम्मानित हुने गरेकोमा कार्यक्रमकी सहभागी सावित्री भट्टले चिन्ता जनाउनुभयो । ‘काम नगर्ने ठेकदारसँग सम्बन्ध बढाउने काम सम्बन्धित कार्यालयबाटै भइरहेको छ । यो दुखद् हो ।’– उहाँले भन्नुभयो ।

