लेकवेसी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले नगरवासीलाई शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार प्राप्तिका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग समन्वय सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले लेकवेसी नपामा सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको लेकवेसी नगरपालिकामा कात्तिक २९ गते सम्पन्न परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपप्रमुख छन्तेलले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
स्थानीय तह आफैँले गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार प्रत्याभूति गराउन इन्सेकको परियोजना उपलब्धिमुलक बनाउन लेकवेसी नपा तयार रहेको पनि उपप्रमुख छन्तेलले बताइन् ।
जनताको जनजीविकासँग जोडिएका विषयवस्तुलाई उठान गर्ने र समाधानका लागि इन्सेक जस्ता सङ्घसंस्थाहरूसँग सहकार्य गर्न नगरपालिका तयार रहेको छन्तेलको भनाइ थियो ।
कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले परियोजना उपलब्धिमुलक बनाउन लेकवेसी नपाका आम नागरिक, मानव अधिकार समूह, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवि र राजनीतिक दलहरूको प्रमुख दायित्व रहेको बताए ।
परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम अन्तर्गत वडा नम्बर ५ बाट एक जना पछि थप गर्ने गरी ११ सदस्यीय मानव अधिकार समूह गठन पनि गरिएको छ ।

