INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षणमा इन्सेकको भूमिका महत्वपूर्ण

जिल्लाको मानव अधिकार संरक्षण, सम्बद्र्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महत्वपूर्ण भूमिका खेलेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा आयोजित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्र्तगत असोज २८ गते सम्पन्न परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् ।
गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाही, गाउँपालिकाका प्रवक्ता केशनबहादुर शाही, वडाध्यक्ष कर्ण खत्री, कार्यपालिका सदस्य हिरे सुनार, अमृता चौलागाई, समाजसेवी देविराम आचार्य गायतका अतिथिहरूले जिल्लामा हुने मानव अधिकार उल्लंघनका घटनाहरूको न्युनीकरणमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको भनाई राखेका थिए ।
गाउँपालिका उपाध्यक्ष शाहीले इन्सेकले विगत द्वन्द्वकालिन समयमा पनि मानव अधिकार संरक्षणका लागि वकालत गर्दै आएको हुनले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका लागि कार्यक्रम सञ्चालन गरेकोमा हर्षित भएको बताउँदै परियोजना सफल बनाउन सबै पक्षको सहकार्य उत्तिकै महत्वपुर्ण रहेको बताइन् ।
गाउँपालिकामा मानव अधिकार वकालत तथा पैरवीका लागि जनप्रतिनिधि, पत्रकार, समाजसेवी, महिला, दलित लगायत सहभागी भेलाबाट भक्तिप्रसाद अधिकारीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको इन्सेकका सहजकर्ता रमेश सुनारले जानकारी दिए ।
समुहले स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला, बालबालिका, दलित लगायतका समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको पहुँचका लागि मागदावी गर्न स्थानीयको क्षमता अभिवृद्धि गर्ने सुनारले बताए ।

Photo20191017Kalikot02

अन्य

भिडियो