अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा डिसिए परियोजना अन्तर्गत स्थानीय तहको विकासमा युवाको भुमिका विषयक दुई दिने कार्यशाला गोष्ठी असोज १० गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहको शासन पद्धतिलाई सुशासनमूखी र मानव अधिकारमैत्री बनाउन युवाको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यशालामा इन्सेकका निर्देशक श्रीराम बजगाँईले युथ भिजन २०२५ र दश वर्षे रणनीति योजनाबारे सहजीकरण गरेका थिए ।
प्रध्यापक डा. हेमराज पन्तले स्थानीय तहमा सुशासन प्रणालीलाई बलियो बनाउन मितव्ययिता, पारदर्शिता र जबाफदेहितामा युवाहरूको महत्वपुर्ण भुमिका रहनेमा छलफल गराएका थिए ।
युवा उद्यमी दिनेश भण्डारीले आफूले शुन्यबाट उद्योग सञ्चालन गर्दा झेल्नु परेको समस्या, चुनौती र सफलताका बारेमा सहभागिहरूबीच अनुभव प्रस्तुत गरेका थिए ।
कैलाली र कञ्चनपुरका तीन ओटा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी कार्यशालामा युवाहरूका लागि स्थानीय तहले सञ्चालन गरेका युवा लक्षित कार्यक्रमको बारेमा अन्तरक्रिया गरिएको थियो ।









