सङ्खुवासभाका १० ओटै स्थानीय तहमा औषधि अभाव सुरू भएको छ । आर्थिक वर्षसुरू भएको ६ महिना बित्न लाग्यो । स्थानीय तहमा २० वर्षपछि जननिर्वाचित प्रतिनिधिसमेत आए तर सरकारले निःशुल्क उपलब्ध गराउने भनेको औषधिसम्म जनताले पाउन सकेका छैनन् ।
सङ्खुवासभाका १० ओटै स्थानीय तहले औषधि खरिद गरेका छैनन् । यसले गर्दा बिरामी मर्कामा परेका छन् । निःशुल्क दिने भनिएकै औषधि उनीहरू निजी मेडिकलबाट महँगोमा किन्न बाध्य भएका छन् ।
पहिले जिल्ला जनस्वास्थ्यले औषधि आपूर्ति गर्दै आएकामा स्थानीय तहको नयाँ संरचनापछि सम्बन्धित गाउँपालिका र नगरपालिकाले नै खरिद गर्नुपर्ने व्यवस्था छ ।
पहिलेपहिले स्वास्थ्य संस्थामा केही औषधि निःशुल्क पाइने गरेकामा यसपालि किन्नुपरेको भोटखोला गाउँपालिका, हटियाका थुदोक भोटेले बताए ।
‘सामान्य औषधि पनि किनेर खानुपरेको छ ।’-उनले भने-‘स्वास्थ्य संस्थामा सिटामोल बाहेक अरू केही पाइँदैन ।’
उनले थपे-‘बिरामी परिहाले सामान्य औषधि नहुँदा सदरमुकाम नै बोकाएर लैजानु पर्छ ।’-उनले भने-‘४ लाख रुपियाँको औषधि किन्ने भनेर गाउँपालिकाले भनेको छ । कसरी पुग्छ यति थोरै रकमले ?’ निर्वाचित जनप्रतिनिधि आएपनि औषधि खरिदमा बेवास्ता गरेको उनले आरोप लगाए ।
जिल्ला अस्पतालमा ७० प्रकारका र स्वास्थ्य संस्थामा ३६ प्रकारको औषधि उपलव्ध गराउने भने पनि बिरामीले महङ्गोमा औषधि किनेर खानु परिरहेको छ ।
गत वर्षजिल्ला जनस्वास्थ्यले ४० लाख रुपियाँको औषधि खरिद गरेको जिल्ला जनस्वास्थ्य प्रमुख डा. विनीतकुमार झाले बताए । ‘पहिलेको औषधि मिलाएर सबै तहमा पठाएका छौँ ।’-झाले भने-‘अब हामीलाई औषधि खरिद गरेर स्वास्थ्य संस्थामा पठाउने अधिकार छैन । त्यसैले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट झिकाएर व्यवस्थापन गर्दैछौँ ।’ ४० लाख रुपियाँको बजेट १० तहमा बाँड्दा जिल्ला अस्पतालमा औषधि अभाव भएको उनले बताए ।
जिल्लाकै सुविधासम्पन्न र सदरमुकाम खाँदबारी नगरपालिकाले समेत अहिलेसम्म औषधि खरिद गरेको छैन । अभाव निम्तिएको तीन महिना बितिसक्दा पनि न्यून बजेट र झञ्झटिलो प्रक्रियालाई कारण देखाउँदै पाँच गाउँपालिका र पाँच नगरपालिकाले खरिद प्रक्रिया अगाडि नबढाएको डा.झाले बताए ।
प्रक्रिया बुझ्नै गाह्रो भएकाले पनि समस्या भएको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालले बताए । गाउँ र नगरले बजेट पनि पर्याप्त छुट्याउन सकिने अवस्था नभएकाले झनै समस्या देखिएको उनले बताए ।