अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था तथा आगामी दिनमा इन्सेकको भुमिकाको बारेमा जिल्लास्थित मानव अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग असार १८ गते छलफल गरेका छन् ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति, जिल्ला बार एसोसिएशन, स्याक, सुन्दर नेपाल, अपाङ्ग महासङ्घ, मानव अधिकारका लागि महिला एकल महिला समूह, मानव अधिकार निगरानी समूहका प्रतिनिधि एवम् उपप्राध्यापकहरू सहभागी थिए ।
कार्यक्रममा जिल्ला तथा प्रदेशको मानव अधिकारको अवस्था, अधिकारकर्मीका चुनौती तथा आगामी दिनमा इन्सेकको भूमिकाको बारेमा छलफल गरिएको थियो ।
छलफलमा सहभागीहरूले सशस्त्र द्वन्द्वको समयमा इन्सेकले आम नेपाली नागरिकहरूको नागरिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि खेलेको भुमिकाको कदर गर्दै इन्सेकले समयानुकूल र कर्णाली प्रदेशको परिवेश अनुसार मानव अधिकारको अवस्था विश्लेषण गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका महासचिव दीपेन्द्र शर्माले कर्णाली प्रदेशका पत्रकारहरू विभिन्न पक्षबाट पीडित हुनु परेको बताउँदै यसलाई न्यूनीकरण गर्नेतर्फ सबैपक्ष चनाखो बन्नुपर्ने भनाई राखे ।
जिल्ला बार एकाई, सुर्खेतका अध्यक्ष नन्द भण्डारीले कर्णाली प्रदेशका नागरिकहरूले भोग्दै आएको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका समस्यालाई समाधान गर्ने खालको कार्यक्रम ल्याउन सुझाव दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष विष्णु शर्माले राज्यले अपाङ्गता भएका व्यक्तिलाई नागरिकको रूपमा नहेरेको भन्दै अपाङ्गताका अधिकार सुनिश्चित हुने कार्यक्रमका साथ इन्सेक अघि बढ्नुपर्ने बताए ।
उपप्राध्यापकद्वय कमल लम्साल र युवराज शर्माले तीनै तहका सरकारबाट हुने मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्यूनीकरण गर्ने कार्यक्रम ल्याउन आग्रह गरे ।
मानव अधिकार निगरानी समूह, सुर्खेतकी अध्यक्ष लक्ष्मी शर्माले जातीय विभेद, छाउपडी र घरेलु हिंसाका कारण महिला माथि हुने सबै प्रकारका दुर्व्यवहारहरूलाई निस्तेज पार्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइन् ।
सहभागीहरूको सुझावपछि इन्सेक व्यवस्थापन प्रमुख प्रेम पराजुलीले इन्सेकले समग्र क्षेत्र समेट्ने भन्दा पनि समयसापेक्ष आवश्यकता हेरी उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने भनाई राखेका थिए ।


