नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि रुकुम पश्चिममा २०१९ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ९ गते मुसिकोट खलङ्गामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले यस अवधिमा सङ्कलन गरेका २५ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गरेकी थिइन ।
जसमा धम्की कुटपिट अन्य पक्षबाट एक, राज्य पक्षबाट एक, गिरफ्तारी ६, बालिका बलात्कार तथा यौन दुर्व्यवहार पाँच, घरेलु हिंसा र कुटपीट चार, महिला बलात्कार तथा यौन दुर्व्यवहार तीन, मानव बेचबिखन एक र बहुविवाहका चार ओटा घटना रहेका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका नायव सुब्बा बलबहादुर केसीले प्रहरीबाटै पुष्टि गरेर घटनाहरू सङ्कलन गरेकोले यी सबै विश्वसनीय भएको बताए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर नविन थापामगरले यसरी घटनाहरूको पुनःपुष्टिका लागि कार्यक्रम राख्दा थप भरपर्दो र विश्वसनीय हुने र प्राप्त सुझावलाई समेत समावेश गर्न सहज हुने बताए ।

पछिल्लो समय जिल्लामा मदिराको व्यापार व्यवसाय र सेवनमा कडाइ भएपछि घरेलु हिंसा र अन्य आपराधिक घटनाहरूमा कमी आएको उनले जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता विनोद पौडेलले इन्सेकले गोपनीयताको हकलाई सुनिश्चित गर्न विशेषखालका पीडितको नामहरू गोप्य राख्नु राम्रो भएको प्रतिक्रिया दिए ।

नेकपा रुकुम पश्चिमका जिल्ला सचिव विमलकुमार पुनले इन्सेकले पीडितका लागि सहयोग गर्दै आएकोमा प्रशंसा गर्दै सक्रियता कायमै राख्नुपर्ने बताए ।
नेपाली कांग्रेस रुकुम पश्चिमका सचिव गोरखबहादुर केसीले सत्यतथ्यको उजागर गर्दै यस्ता घटनाको कमी ल्याउन सचेतनामूलक कार्यक्रम समेत गर्नुपर्ने सुझाव दिए ।
गैरसरकारी संस्था महासङ्घ नेपाल रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाहले देशमा ठूलो परिवर्तन भैसक्दा पनि इन्सेकको यो ढाँचा पूरानो भएको भन्दै सबैको मानव अधिकारको रक्षा गर्न केही नयाँपन दिनुपर्नेमा जोड दिए ।

जिल्ला बार एकाई रुकुम पश्चिमका अध्यक्ष एक्कबहादुर पाण्डेले गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्थालाई इन्सेकले पालना गरेको भन्दै खुसी व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ रुकुमका अध्यक्ष गणेश चिन्तनले एउटा कुटपिटको घटना छुटेको भन्दै उक्त घटनालाई पनि समेट्न सुझाव दिए ।
त्यस्तै पत्रकार मेगराज खड्काले प्रायः बलात्कारका मुद्दामा अदालतले निर्दोष सावित गरेपछि उक्त आरोप लगाउने महिलाको नाम सार्वजनिक गर्नुपर्ने बताए ।
जसले गर्दा उक्त महिलाले अर्कोपटक अर्को व्यक्तिलाई त्यस्तो आरोप लगाउन र अनावश्यक पैसाको बार्गेनिङ गर्ने समस्याको समाधान हुने उनको भनाई छ ।
मनिषा केसी