INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन नबज्दै बन्द हुन्छ स्वास्थ्यचौकी

माइजोगमाई गाउँपालिकामा रहेको नयाँबजार स्वास्थ्य चौकी अचेल दिउँसोको तीन नबज्दै बन्द हुने गरेको स्थानीयले आरोप लगाएका छन् । रूघाखोकी र ज्वरोले सताएपछि पुस १७ गते दिउँसो २:४५ तिर उपचारका लागि नयाँबजार स्वास्थ्य चौकीमा आइपुगेका नामसालिङका बलबहादुर राईले स्वास्थ्य चौकी नै बन्द रहेको बताए । स्वास्थ्य चौकी बन्द भएपछि स्वास्थ्य चौकीका प्रमुख रामशंकर देवको औषधि पसलबाट औषधि किनेर फर्किए ।

‘हेल्थपोष्ट आएको बन्द भइसकेछ । अनि देवकै औषधि पसलमा गएर किनेर फर्किए ।’-राईले भने-‘पसलमा देव पनि भेटिनँ । उनकी पत्नीले औषधि दिइन् । रूघा, ज्वरोले साह्रै पार्‍यो खै चिसोले होला ।’

अलि ढिलो हुँदा राई जसरी नयाँ बजार स्वास्थ्य चौकीबाट फर्किएर बजारमा रहेका औषधि पसलबाट औषधि खरिद गरेर फर्कने निकै हुन्छन् । तीन नबज्दै स्वास्थ्य चौकी बन्द भएको खबर सुनेर गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पनि स्वास्थ्य चौकी प्रमुखलाई फोनबाटै सोधे ‘किन दिउँसै स्वास्थ्य चौकी बन्द गरेको ?’ अध्यक्षको फोन पछि अतालिँदै स्वास्थ्य चौकी हिँडेका देवले स्वास्थ्य चौकीका अर्का कर्मचारीलाई फोन गर्दै भने-‘हैन तीन बजेसम्म त बस्नु भनेको थिएँ, किन नबस्या ?’

स्वास्थ्य चौकीका प्रमुख देवले आफू आइतबार इलाम जानुपर्ने भएकाले काजमा रहेका कारण सोमबार स्वास्थ्य चौकीमा आफू नभएको र सोमबार स्वास्थ्य चौकी हेर्ने जिम्मा हेल्थ असिस्टेण्ट रामकुमार थारूलाई दिएको बताए ।

उनले भने-‘अहिले दुई जना नयाँ हेल्थ असिस्टेण्ट आएका छन् । नयाँ भएकाले पनि चाँडै बन्द गरेका होलान् । अचेल जाडोमा दिउँसो ३ बजे नै स्वास्थ्य चौकी बन्द हुन्छ । तर, ३ बजे अघि त बन्द नगर्नुपर्ने हो ।’ दरबन्दी अनुसारका कर्मचारी नहुँदा पनि कार्यालय चाँडै बन्द गर्नुपरेको देवले बताए । उनका अनुसार यो स्वास्थ्य चौकीमा दुई जना अहेब र एक अनमीको पद खाली रहेको छ ।

गाउँपालिकाका अध्यक्ष राई भने दिउँसो ४ बजेसम्म स्वास्थ्य चौकी खोल्नु पर्ने बताउँछन् । यता जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले पनि जाडोमा दिउँसो ३ बजे र तातो महिनामा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म स्वास्थ्य संस्था खुल्लै रहने बताए । मल्लले जिल्लामा २१ अहेब र १५ अनमी पद खाली रहेको र लोकसेवामार्फत आउँदै गरेको जानकारी दिए ।

अन्य

भिडियो