नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा छलफल कार्यक्रम असार ९ गते दमौलीमा सम्पन्न भएको छ ।
मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य विष्णुभक्त सिग्देलले मानव अधिकारको विषय विश्वव्यापी र सबैको लागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए ।
संविधानले पनि मानव अधिकारका केही विषयवस्तुलाई मौलिक हकको रूपमा व्यवस्था गरेको हुँदा ति हकहरू जनताले प्रत्याभूत गर्न पाउनु पर्ने उनले बताए ।
अहिले शान्तिपुर्ण प्रतिष्पर्धाको माध्यमबाट आफ्ना लोकतान्त्रिक अधिकारहरू प्राप्त गर्न सकिने भएपनि केहीले फेरि हतियारको युद्ध गर्न खोजेको हुँदा त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य भएको उनको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकराज सुवेदीले मानव अधिकारको विषय राज्यको हैसियतसँग पनि सम्बन्ध राख्ने हुँदा राज्यले आफ्नो हैसियत अनुसार नै मानव अधिकारको प्रत्याभूति गराइरहेको बताए ।
राज्य मानव अधिकारको संरक्षक भएको कारण मानव अधिकारको संरक्षण गर्ने क्रममा कँही कतै केही कमजोरी हुन सक्ने र इन्सेक जस्ता मानव अधिकार सङ्घसंस्थाले राज्यलाई खबरदारी गरिरहनु पर्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास थापाले जनताको जिउ धनको सुरक्षाको लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई राज्यले नियन्त्रणमा लिएको हुँदा त्यसलाई मानव अधिकार हनन्को रूपमा लिन नहुने बताए ।
यो घटना कानुन कार्यान्वयनकै क्रममा भएको हुँदा यसलाई सहयोग गर्नु सबैको कर्तव्य भएको उनको भनाई थियो ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले मानव अधिकारको विषयवस्तुको बारेमा सबै नागरिकले जानकार राख्न नसकेमा महिला तथा बाल अधिकार हनन्का घटनाहरूमा कमी आउन सक्ने बताए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०१९ को ६ महिनाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस अवधिमा तनहुँमा ५७ ओटा घटनाहरू अभिलेखीकरण भएको छ । कार्यक्रममा ति घटनाहरू प्रस्तुत गरी सरोकारवाला निकायको सुझाव समेत सङ्कलन गरिएको थियो ।
जसमा घरेलु हिंसातर्फ ३१ ओटा, बलात्कारतर्फ नौ ओटा, बलात्कार प्रयासतर्फ पाँच ओटा, गिरफ्तारतर्फ सात ओटा, हत्याका दुई ओटा, दुर्व्यवहारको एउटा र जातीय विभेदको एउटा र कथित बोक्सीको आरोपमा एउटा रहेका छन् ।





प्रकाशचन्द्र भट्टराई