अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गुल्मीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ५ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरेका बलात्कार तथा बलात्कार प्रयासका तीन ओटा, हत्या दुई ओटा, गिरफ्तार एक र घरेलु हिंसाका ३५ ओटा घटना समेटिएको तथ्याङ्कका साथै जिल्लामा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकको अधिकारको अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्ण शरण लामिछानेले मानव अधिकारको अबको मुद्दा आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार भएकाले नागरिक समाज एवम् अधिकारकर्मीको ध्यान त्यस तर्फ केन्द्रित गराउन आग्रह गरे ।
उनले समुदायमा वैदेशिक रोजगार, शहर केन्द्रीत बसाई र सुखभोगी जीवनशैलीले पारिवारिक बिचलन बढेकाले समुदायमा सचेतनाको भुमिका खेल्न इन्सेकलाई सुझाव दिए ।
दलित अधिकारकर्मी गणेश विश्वकर्माले जातीय भेदभावको नाममा दलित समुदायलाई धर्म परिवर्तन गराउने क्रम बढेको प्रति ध्यानाकर्षण गराए ।
नागरिक समाजका अध्यक्ष पदम पाण्डेले अझै समुदायमा जातीय भेदभाव तथा छुवाछुतको अवस्था रहेकाले उनीहरुलाई न्यायको पहुँमा ल्याउन इन्सेकले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
जिल्ला कारागारका प्रमुख अर्जुन थापाले कारागारमा कैदी बन्दीले भोगेको खानेपानीको समस्याका बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र खड्काले बालबालिका तथा महिला सेवा केन्द्र र हिरासतको बारेमा जानकारी गराए ।




टोपलाल अर्याल