ललितपुरमा आयोजित एक कार्यक्रममा विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्यमा सरोकारवालाले जोड दिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ललितपुरको आयोजनामा पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत वैशाख ८ गते ‘‘विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य’’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा समतामुलक र समानुपातिक विकास निर्माणका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्यको महत्वपूर्ण भूमिका हुने सरोकारवालाहरूले बताएका छन् ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, ललितपुरका अध्यक्ष रामहरी घिमिरेले पछाडि परेको समाजलाई मूलधारमा ल्याउन र पूर्वधार विकास, शिक्षा, स्वास्थ्य रोजगारीलगायतका क्षेत्रमा नागरिक समाज र सञ्चार जगतबीचको साझा प्रयास हुनु पर्नेमा जोड दिए ।
उनले एउटै सडकलाई गुणस्तरीय बनाउनुको सट्टा अरु टुक्रे सडक बनाउने कार्य रोक्नेतर्पm राज्यको ध्यानाकर्षण गर्नु पर्ने खाँचो औँल्याए ।
ललितपुर बारएशोसिएसनका अध्यक्ष दीपक विष्टले बौद्धिक तथा भौतिक विकासलाई दुई भागमा बाँडेर हेर्नु पर्ने खाँचो औँल्याए ।
उनले सञ्चार क्षेत्रले समाज रूपान्तरणका लागि समाधान मुलक दृष्टिकोणबाट सकरात्मक समाचार सम्प्रेषण गर्न नागरिक समाजले पे्ररित गर्नुपर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय कोषाध्यक्ष कुलबहादुर चित्रकारले ललितपुर महानगरपालिका क्षेत्रमा खानेपानीको समस्या रहेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका राससका पत्रकार सुभानु आचार्यले कृषिका समस्या र कृषकका सफलता पनि मिडियाले समेट्ने बताइन् ।
गैर सरकारी संस्था महासङ्घ नेपाल, ललितपुरकी उपाध्यक्ष दीपना शर्माले सञ्चार माध्यमले नकरात्मक विषयलाई मात्र धेरै उठान नगरी सफलताका कुराहरू र भएका प्रगतिलाई पनि समेट्नु पर्नेमा जोड दिइन् ।
अन्तर धार्मिक सञ्जालका सदस्य विश्वनाथ न्यौपानेले स्थानीय सरकारले लक्षित वर्गको कार्यक्रम सही ठाउँमा खर्च गरे÷नगरेको बारे खबरदारी गर्न नागरिक समाज र सञ्चार जगतको साझा प्रयास हुनु पर्नेमा जोड दिए ।
प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहालले १३ वर्ष अघिको डिपीआरका आधारमा चक्रपथ बन्दा अहिलेको बढ्दो जनघनत्वमैत्री निर्माण नहुँदा दैनिक प्राय सडक दुर्घटनाका घटनाहरू भइरहेको बताए ।
ज्येष्ठ नागरिक समाज नेपालका सदस्य बाबुराजा महर्जनले चक्रपथ सडकका आकाशे पुल यात्रुमैत्री नहुँदा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता क्षेत्रका व्यक्तिहरूले सास्ती झेल्नु परेको बताए ।
पत्रकार गोमा पाण्डेले सकरात्मक सामाजिक रूपान्तरणका लागि नागरिक समाजले सञ्चार जगतलाई सही सूचना दिइ सहयोग गर्नु पर्ने बताइन् ।
मानव अधिकार सञ्जाल ललितपुरका कोषाध्यक्ष पूर्ण महर्जनले इन्सेकले मानव अधिकारको रक्षा र सामाजिक रूपान्तरणका लागि नागरिक समाज र पत्रकारहरूबीच पुलको भूमिका खेल्दै आएको चर्चा गरे ।




दीपकप्रसाद घिमिरे