अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को कार्यालय विराटनगरको आयोजनामा फागुन १३ गते सुनसरीको गढी गाउँपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागि पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा यहाँका सेवाग्राहीहरूले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, स्वास्थ्य संस्थामा नियमित निशुल्क औषधि वितरण गरिनुपर्ने, खाद्यान्नका लागि बजार अनुगनम नियमित र कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्ने लगायतमा सरोकारवालाहरूले जोड दिएका छन् ।
शिक्षामा गुणस्तर कायम नभएसम्म स्वास्थ्य र खाध्यका सवाल सार्थक नभएकाले त्यसमा सुधारका मागहरू सरोकारवालाहरूले गरेका थिए ।
कार्यक्रममा स्थानीय तहको नयाँ संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो र सार्थक नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा उठेका सवालको जबाफ दिँदै गढी गाउँपालिकाका–२ का वडा अध्यक्ष अरूणकुमार चौधरीले आफहरू दुई वर्षको अवधिमा नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण केही समस्या भएको र शिक्षा सुधारका लागि पहल थालेको बताए ।
उनले शिक्षा सुधारका लागि अनुगमन गरेपनि सुधारमा निरासाजनक अवस्था रहेको गुनासो गर्दै नागरिकहरू सचेत हनुपर्ने बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गरेको तर त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
सेवा प्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सेवाप्रदायक संस्थालाई सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने वडा अध्यक्ष चौधरीले बताए ।
सुनसरीको गढी गाउँपालिका–२ औरावनीमा शिक्षा, स्वास्थ्य र खाध्य अधिकार विषयक सेवाग्राही र सेवादायीबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले गुणस्तरीयतामा जोड दिएका छन् ।
शिक्षाको गुणस्तरका लागि विद्यालयहरूको नियमित अनुगमन आवश्यक रहेको गढी मानव अधिकार निगरानी समूहका अध्यक्ष युवराज चौधरीले बताए । उनले शिक्षामा सरकारी निकायको बेवास्ता रहेकाले समस्या भएको बताए ।
कार्यक्रममा इन्सेकका प्रदेश संयोजक सोमराज थापाले शिक्षाको विकासले समग्र विकास गर्न सकिने बताए ।
कार्यक्रममा गढीका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराईले सबै नागरिकका लागि शिक्षा, स्वास्थ्य र खाद्य मानव अधिकार तथा मौलिक हकको रूपमा आएकाले त्यसमा नागरिकहरू समेत सचेत हुन जरूरी रहेको बताए ।
लेखा अधिकृत दिलबहादुर खड्काले विकासमा सबैको हातेमालो गरेर औरावनीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूति गर्न पाउनेमा जोड दिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख गजेन्द्रप्रसाद यादवले पोषण नभएसम्म स्वास्थ्य नहुने भएकाले त्यसमा सुधारको आवश्यक रहेको बताए ।
अधिवक्ता गवन सिंह चौधरीले अधिकारका लागि नागरिकले कर्तव्यको पनि पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले विकासमा हातेमालो गर्ने र औरावनी सहित गढीमा शिक्षा, स्वास्थ्य र खाद्यको अधिकार पूर्ण उपभोगका लागि बजार अनुगमन, स्वास्थ्य संस्था अनुगमन र विद्यालय अनुगमन पाक्षिक रूपमा गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा चौधरी सहितका सरोकारबालाहरूले सेवाग्राहीको सवालको जवाफ र अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले उठाएको गुणस्तरीयतामा ध्यान दिने र त्यसप्रति प्रतिवद्ध रहेको बताए ।
जयकृष्ण यादव