अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश पोखराद्वारा फेदीखोला गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने क्षमता अभिवृद्धि तालिम फागुन १० गते सकिएको छ ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन मानव अधिकार निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धिका लागि सो तालिमको आयोजना गरिएको इन्सेक गण्डकी प्रदेशले जनाएको छ ।
तालिममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले शिक्षा स्वास्थ्य र खाद्यलगायतका अधिकारको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै आपूmहरू इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यलयका निर्देशक दिपकजङ्गध्वज कार्कीले मानव अधिकारमैत्री समाज निर्माणमा तालिमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
फेदीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले देशले राजनीतिक अधिकार प्राप्त गरेसँगै अब सुशासन र मानव अधिकारमैत्री वातावरणको आवश्यक रहेको बताउँदै उनले मानव अधिकार निगरानी समूहसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकार निगरानी समूहले सबै क्षेत्रसँग सहकार्य गर्दै गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउन लाग्नूपर्नेमा जोड दिए ।
तालिममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यलयका निर्देशक दिपकजङ्गध्वज कार्की, अधिवक्त गिरधारी सुवेदी, इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा, फेदीखोला गाउँपालिकाका प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले सहजिकरण गरेका थिए ।





हिमलाल पराजुली