कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सार्वजनिक सम्पतिको सुरक्षा सबै जना मिलेर गर्नुपर्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बेलपाटामा गरिएको सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
प्रदेशसभा सदस्य थापाले कमाउनका लागि उपभोक्ता समितिमा बस्न होडबाजी गर्ने, ठेकेदारले गुणस्तरहीन काम गर्ने र नेता कर्मचारीले घुस खाने प्रवृत्ति नरोकिएसम्म सुशासन र पारदर्शिता नारामा मात्र सीमित हुने टिप्पणी गरे । सुशासनका निम्ति सबै इमान्दार हुनुपर्ने उनको भनाइ छ ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निरन्तर अभ्यास र खबरदारीले मात्र सुशासन र पारदर्शिता कायम गर्न सकिने बताए ।
उनले दैलेखका नागरिक समाज र जनप्रतिनिधिहरू दुवैको तत्परताले मानव अधिकार प्रवर्धनका काममा उल्लेख्य प्रगति भएको बताए ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डाँगीले जनताको चेतनास्तर उठाउन इन्सेकले गरेको प्रयासले विकास कार्यक्रममा सहज भएको बताए ।
वडा नं. ६ का वडा सदस्य कलमबहादुर शाहीले इएलपी परियोजनाले सरोकार राख्ने शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवाललाई वडाको विकास कार्यक्रममा समेट्ने गरिएको प्रट्याए ।
उठेका प्रश्नहरुको जवाफ दिँदै डुङ्गेश्वर गाउँपालिकाका शिक्षा एकाइ इञ्चार्ज शाखा अधिकृत इन्द्रप्रसाद उपाध्यायले विद्यालयमा कम्प्यूटर शिक्षा र आधुनिक प्रविधिको प्रयोग गरेर शैक्षिक गुणस्तर सुधारका प्रयत्न गरिरहेको बताए ।


अमर सुनार