माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकेको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् ।
सहरी विकाससँगै युवाहरूमा लागू औषध दुर्व्यसनी र अनियन्त्रित मदिरा सेवन रोक्न मानव अधिकार निगरानी समूह डुङ्गेश्वरले माघ १९ गते चौकी इञ्चार्जलाई भेटेर यस्तो असन्तुष्टी जनाएका हुन् ।
इएलपी कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा डुङ्गेश्वर गाउँपालिकाले प्रवाह गरिरहेको सेवा सुविधाको गुणस्तर सुधार र जबाफदेहिताका विषयमा आपसी सहकार्यता अभिबृद्धिमा काम गरिरहेको मानव अधिकार निगरानी समूहले प्रहरीको सक्रियता बढाउन आग्रह गरेको हो ।
मानव अधिकार निगरानी समूह डुङ्गेश्वरका संयोजक पिपला शाही बुढाथोकीको नेतत्वमा पुगेको टोलीले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीका कर्मचारीले लागू औषध दुव्र्यसनीमा लागेका युवाहरूलाई सुधार्न र प्रहरी कर्मचारी आफैँले मदिरा सेवन गरी ड्युटीमा नजान सुझाव दिएको थियो ।
टोलीको गुनासो सुनेपछि माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीका इञ्चार्ज हरिराम शाहीले सुझावका धन्यवाद दिँदै प्रहरीको सेवामा सुधार ल्याउने प्रतिबद्धता जनाए । उनले गलत काम गरेका व्यक्तिलाई गिरफ्तार गरेको बेला स्थानीयले छुटाउन अनुचित दबाब दिने गरेको दुखेसो पोखे ।
महिला प्रहरी नभएका कारण महिला हिंसाका घटनालगायतमा पीडित भएका वा कुनै अरू घटनामा आरोपित महिलालाई गिरफ्तार गर्न वा छलफलमा सम्झाइबुझाई गर्न पुरूष प्रहरी कर्मचारी खटाउनु पर्ने बाध्यता भएको शाहीले बताए । उनले भने–‘महिला प्रहरी नभएको कारण पनि महिला सवाल सन्तोषप्रद गराउन सकिएको छैन ।’
माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले डुङ्गेश्वर गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ पर्ने डाँडापराजुल, अवलपराजुल, बाले रेक्चा, गुराँस गाउँपालिकाको वडा नं. ४ बराह क्षेत्र, दुल्लू नगरपालिका वडा नं. १२ गौरी र १३ मालिकाको केही भाग समेत हेर्न एक सई, एक असई, दुई हवल्दार र ५ जना सिपाहीको दरबन्दी छ । यो चौकीले राजमार्ग सुरक्षा समेत चनाखो हुनुपर्ने जिम्मेवारी छ ।
अमर सुनार