स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूह गठन तथा सरोकारवाला र सेवाग्राहीसँग परिचयात्मक कार्यक्रम माघ ३ गते गरिएको छ ।
आगामी दुई वर्षसम्म स्याङ्जा जिल्लास्थित फेदिखोला गाउँपालिकामा सञ्चालन हुने सो कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारलाई प्राथमिकता दिने इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले जानकारी दिए ।
संयोजक खकुरेलले परियोजनाले स्थानीय सरकारलाई पनि उत्तरदायी बनाउने काम गर्ने भन्दै यस कार्यक्रमले जनताका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रत्याभूत गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सो अवसरमा परियोजनाका अवधिमा सम्पन्न गरिने क्रियाकलापका बारेमा सरोकारवाला निकायलाई जानकारी दिनुका साथै ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रमले सेवाग्राही र स्थानीय सरकारको बिचमा पुलको काम गर्ने अपेक्षा राखेको बताए ।
‘मानव अधिकार निगरानी समूहले पुलको काम गर्नेछ । हाम्रा कमी कमजोरीलाई औँल्याउदै जनताका सेवामा सहजता ल्याउन भूमिका खेल्ने विश्वास लिएको छु ।’–उनले भने ।
फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले मानव अधिकार निगरानी समूहले जनप्रतिनिधि र सरोकारवालालाई सजग गराउने विश्वास व्यक्त गरिन् । उनले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा निगरानी समूहसँगै रहेर काम गर्ने प्रतिबद्धता समेत जनाइन् ।
फेदीखोला गाउँपालिकाको कार्यालयका कार्यकारी प्रमुख छत्रबहादुर अधिकारीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमले योजना निर्माणमा गाउँपालिकालाई सहयोग पुग्ने भनाई राखे ।
इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सवनम शर्माले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा जानकारी गराउँदै परियोजना सञ्चालन अवधिमा इन्सेक, गाउँपालिका र मानव अधिकार निगरानी समूहको सहकार्यले फेदिखोला गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउँदै लक्ष्य अनुसारको उपलब्धि हासिल हुने बताइन् ।

सुशन घिमिरे