डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जनजीविका र मानव अधिकारको प्रत्याभूति गराउन गाउँपालिका तत्पर रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डुङ्गेश्वर बजारमा पुस १७ गते गरिएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवालको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
अध्यक्ष मल्लले डुङ्गेश्वर गाउँपालिकाले बालबालिकाको उचित शिक्षा र उज्ज्वल भविष्यको लागि सबै भन्दा धेरै ९० लाख विनियोजन गरेको, चालु आर्थिक वर्षमा वडा नं. ४ मा बर्थिङ्ग सेन्टर र वडा नं. ६ मा नयाँ स्वास्थ्य चौकी स्थापना गरिएको जानकारी दिए ।
त्यस बखत डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डागीले कृषिलाई व्यवसायिक र उन्नत प्रविधि विस्तार गर्न लगानी बढाउँदै गएको जानकारी दिए ।
वडा नं. ६ का वडाध्यक्ष बमबहादुर बीसीले डुङ्गेश्वर गाउँपालिकाका सबै विद्यालयमा कम्प्यूटर शिक्षा प्रयोगात्मक अभ्यास भए नभएको अनुगमन प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
इन्सेकले डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटा र वडा नं. ६ डुङ्गेश्वरमा गठन गरेको इएलपी कार्यक्रम अन्तर्गतका मानव अधिकार निगरानी समूह, बाल अधिकार चेतना समूह र सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षा विषयमा जनप्रतिनिधिहरूसँग सवालजबाफ गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवाल र डुङ्गेश्वर गाउँपालिकाको भावी नीति तथा कार्यक्रम समेतलाई समेट्दै चार बुँदे प्रतिबद्धता समेत जारी गरिएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियो धु्रवताराले प्रत्यक्ष प्रसारण गरेको थियो ।


अमर सुनार