अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस १३ गतेदेखि धनगढीमा सुरू गरिएको छ ।
सम्पादन भेलामा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले अन्तिम सम्पादन भेलामै पूरा गरी पछिसम्म काम गर्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताए ।
उनले जिल्ला प्रतिनिधिहरूले राम्रो काम गदै आएतापनि प्रतिवेदनमा सफलताका कथा र डाटा अनुरूप फोटोको कमी हुँदै आएको बताउँदै इन्सेकको अभिलेखीकरणलाई अझ व्यवस्थित बनाउन सवैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुका साथै सबै पक्षसँगको समन्वयमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा इन्सेक केन्द्रिय कार्यालयका अनलाइन सम्पादक रमेश तिमल्सिनाले वर्ष पुस्तकलाई विश्वसिलो बनाउन जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका घटना सत्यतथ्यमा आधारित हुनुपर्ने र सङ्कलित घटनाहरूको तिथि मिति तथा स्पष्टता हुनु पर्ने कुरामा जोड दिएका थिए ।
इन्सेक केन्द्रिय कार्यालयका गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरूले आफूले सङ्कलन गरेका घटनाहरू मिडियामा आएका घटना तथा सम्बन्धित निकायमा आएको घटनासँग तुलना गर्न पनि आवश्यक रहेको बताउँदै उनले घटना फारम पनि समयअनुसार अध्यावधिक गर्नु पर्ने बताए ।
इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर बिकले जिल्ला प्रतिनिधिले घटना सङ्कलन गरी समयमा रिर्पोटिङ् गरे कार्यसम्पादनमा सबैलाई सहज हुने बताउँदै इन्सेक जिल्ला प्रतिनिधिहरूले इन्सेक निर्देशिका अनुसार कार्य गर्न र सोही अनुरूप अनलाइन समाचार बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकार अवस्था, अनलाइन समाचार तथा वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्दा देखिएका समस्याका बारेमा बताएका थिए ।

रविना चौधरी