अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस ११ गतेदेखि नेपालगञ्जमा सुरु भएको छ ।

उद्घाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले इन्सेकका प्रतिनिधिहरूले घटनाहरूलाई प्रत्यक्ष अनुगमन गर्ने र अभिलेखीकरण गर्ने कार्यले आयोगलाई निकै सहयोग पुगेको बताए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा प्रसार कार्यक्रमका गोविन्द त्रिपाठीले नेपाल मानव अधिकार वर्ष पुस्तक सम्पादनका विषयवस्तुहरू माथि जनकारी गराउँदै वर्ष पुस्तकलाई विश्वासिलो बनाउन जिल्ला प्रतिनिधिहरूको भूमिका महत्वपुर्ण रहेको उल्लेख गरे ।

इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको सम्पादन गर्दा सत्यतथ्य विवरण राख्नुपर्ने बताए । उनले झुक्किएर पनि गलत विवरण वर्ष पुस्तकमा नपरोस् भनेर नै वर्षको दुई पटक जिल्ला स्तरमा सरोकारवालाका बिचमा समीक्षा र सम्पादन गर्ने गरेको बताए ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले नेपाल मानव अधिकार वर्ष पुस्तक फरक ढङ्गले प्रकाशन गर्ने प्रयास रहेको बताउँदै समयानुसार परिमार्जन गर्ने प्रक्रियामा रहेको बताए ।

संयोजक महतले मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षामा उठाइएका सुझावहरूलाई वर्ष पुस्तकमा समेट्न सुझाव दिए ।
कार्यक्रममा प्रदेश ५ का जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकारको अवस्था, अनलाइन समाचार प्रकाशन तथा वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्दा देखिएका समस्याहरूको बारेमा अवगत गराएका थिए । कार्यक्रममा रुपन्देही बाहेक सबै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
रामसुहावन सोनकर