विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनुसार काम भए नभएको निगरानी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबिच सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले संविधानले दिएको अधिकार स्थानीय तहले कार्यान्वयन गर्ने क्रममा पहिले कानुन नबनेका कारण केही बाधा परेको बताइन् ।
उनले स्थानीय सरकार र नागरिक समाज एउटा रथका दुई ओटा पाङ्ग्रा भएकाले आपसी सहकार्यको खाँचो औँल्याइन् ।
महालक्ष्मी नगरपालिकाका कार्यवहाक प्रमुख एवम् न्यायीक समिति संयोजक निर्मला थापाले जनसहभागितामा योजना छनौट र कार्यान्वयन भइरहेको उल्लेख गर्दै भौतिक विकासलाई मात्र नभइ मानवीय शक्तिको विकासका सवाललाई पनि बुझिदिन नागरिक समाजसँग आग्रह गरिन् ।
कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले जनचाहना अनुसारको सेवादिने पद्धतिको विकास भइरहेको बताइन् ।
कार्यालय समयमा नियमित काम भए नभएको अवलोकन गरी नागरिक समाजले जनता र स्थानीय सरकार बिचमा पुलको भूमिका खेल्नु पर्ने बताइन् ।

गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको जनतालाई अनुभूति दिलाउनु पर्ने खाँचो औँल्याउदै सेवाप्रवाहका विषयमा नागरिकलाई पारदर्शीरूपमा सूचना प्रवाह गरी जबाफदेही बन्न जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए ।
ललितपुर बारएशोसिएसनका अध्यक्ष दीपक विष्टले स्थानीय तहले बनाएका कानुन व्यवहारमा उतार्दा जनअधिकारको रक्षा हुनु पर्ने बताए ।
ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्थानीय सरकारसँग विकासका सवालमा निजी क्षेत्रले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले इन्सेकले मानव अधिकार र नागरिक कर्तव्यका विषयमा सचेतना जगाउँदै आएको बताए ।
सामुदायिक सूचना नेटवर्क (सिआइएन)का प्रमुख दीपक आचार्यले अरू जिल्लाको तुलनामा ललितपुरमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य थोरै मात्र हुने गरेकोमा ध्यानाकर्षण गराए ।
मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले स्थानीय सरकारको कार्य सञ्चालनलाई नागरिक समाज र सञ्चारकर्मीहरूले निरन्तर अवलोकन, अध्ययन र विश्लेषण गरिरहेको उल्लेख गर्दै विकासका सावालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यको खाँचो औँल्याए ।
दीपकप्रसाद घिमिरे