नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम मङ्सिर १० गते सम्पन्न गरिएको छ ।
इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०१८ को यो अवधिसम्म ८६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरेको बताए ।
जसमध्ये महिला हत्याका तीन, बालिका बलात्कारका ३६, बाल यौन दुर्व्यवहारका १० ओटा घटना छन् । त्यसैगरी महिला अधिकार उल्लङ्घनतर्फ बलात्कारका १० र बलात्कार प्रयासका पाँच ओटा घटना सङ्कलित छन् ।
२ सय २३ ओटा घरेलु हिंसाका निवेदन चितवन प्रहरीमा परेको प्रतिवेदनमा उल्लेख छ । बालिका बेचबिखनको एक, महिला बेचबिखनका तीन, बहुविवाहका ११ र बालविवाहको एउटा घटना अभिलेख गरिएको छ । यो अवधिमा इन्सेकले गरेको अभिलेख अनुसार हाडनातामा बलात्कारका ६ ओटा घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहले जिल्लामा अन्य अपराधका तुलनामा बलात्कारका घटना बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे ।
जिल्ला अदालत चितवन बार एशोसिएसनका अध्यक्ष अधिवक्ता कमल पाठकले महिलाहरू नै सक्षम र सचेत नभएसम्म समाजमा यौन अपराधका घटना भइरहने बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाले बालबालिकाहरू असुरक्षित हुँदा पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।
यौनजन्य हिंसाविरूद्धको साझा अभियान चितवनकी सहसंयोजक सङ्गीता भट्टराईले महिला माथि हुने सबै किसिमका भेदभाव अन्त्य भएमात्र उनीहरू सुरक्षित हुने बताइन् ।


दिपेन्द्र अधिकारी