नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि रूकुम पश्चिममा २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ५ गते मुसिकोट खलङ्गामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले यस अवधिमा सङ्कलन गरेका ५९ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना प्रस्तुत गरेकी थिइन् ।
जसमा अन्य पक्षबाट हत्या तीन, परिवारजनबाट हत्या तीन, धम्की/कुटपिटका १०, बाल अधिकार अन्तर्गत विद्यालयमा शारीरिक यातना एक, बालविवाह एक, बलात्कार तथा यौन दुर्व्यवहार ११, महिला अधिकार अन्तर्गत घरेलु हिंसा र कुटपिटका २१, बलात्कार तथा यौन दुर्व्यवहारका पाँच र बहुविवाहका चार ओटा घटना रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले यस तथ्याङ्कबाट जिल्लाको स्थिति सबैलाई जानकारी भएको बताए । यसबाट मानव अधिकार उल्लङ्घन र ज्यादतीको घटनामा महिला बढी पीडित हुने गरेको उनले बताए ।
जनचेतनाका कारण प्रहरीसम्म मुद्दा दर्ता हुने हुँदा घटना बढेको उनको भनाई छ । बालविवाहका कारण घरेलु हिंसा र बहुविवाह बढेको भन्दै प्रजिअ रेग्मीले यससम्बन्धी कानुनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
समुदायमा हुने कतिपय घटनाहरूको मेलमिलापबाट समाधान गर्दा दिगो हुने भएकाले त्यसतर्फ पनि लाग्नुपर्ने तर जघन्य अपराधका घटनामा भने कानूनी कारवाही नै गर्नुपर्ने उनको भनाई छ ।
अघिल्लो वर्षको मानव अधिकार उल्लङ्घनका घटना समेत प्रस्तुत गरेर हालको अवस्था तुलना गर्दा प्रभावकारी हुने उनले सुझाव दिए । जिल्लामा मसिनो ढङ्गले यी घटनाको सत्यतथ्य पत्ता लगाई प्रस्तुत गरेको भन्दै इन्सेक रूकुमप्रति प्रजिअ रेग्मीले धन्यवाद व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले यसरी सबै कुराहरू खुलस्त बाहिर ल्याउँदा प्रहरीलाई काम गर्ने उत्साह बढ्ने बताए ।
सङ्कलित घटनामा केही छुटेकालाई समेत समेटेर पूर्णता दिन र आगामी डिसेम्बरसम्मका सबै घटनालाई वर्ष पुस्तकमा समेट्न उनले सुझाव दिए । मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना कम गर्न सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
गैरसरकारी संस्था महासङ्घ रूकुमका अध्यक्ष नारायण शाहले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाएमा घटना कम हुने बताए ।
जिल्ला बार इकाई रूकुम पश्चिमका उपाध्यक्ष भूवनेश्वर उपाध्यायले मुद्दा असफल हुनुमा अनुसन्धान फितलो हुनु, प्रमाण नष्ट हुनु र विरूद्धको बयान बलियो हुनु मुख्य कारण रहेको बताए । सरकारवादी मुद्दामा मिलापत्र गर्न नमिल्ने उनले बताए ।
पत्रकार मेघराज खड्काले प्रायः बलात्कारका मुद्दामा बयान फेरेर आरोपितले सफाई पाएको भन्दै यस्तो कार्यलाई रोक्नुपर्नेमा जोड दिए ।
जघन्य अपराधका सरकारवादी मुद्दा असफल हुँदा घटनामा संलग्न व्यक्ति उम्किने भएकाले बलात्कारका घटना बढेको हुनसक्ने उनले बताए ।
मनिषा केसी