INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर ४ गते कावासोतीमा गरिएको छ ।

Photo20181121Nawalpur3

पूर्व समीक्षा कार्यक्रममा जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरिएका ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना विवरण प्रस्तुत गरिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जिल्लामा सबैभन्दा बढी बलात्कार तथा यौनजन्य हिंसा सम्बन्धी ३१ ओटा घटना इन्सेकले अभिलेख गरेको बताए ।

जसमध्ये २२ ओटा घटनामा बालबालिका पीडित भएका छन् भने नौ ओटा घटनामा महिला पीडित भएका छन् ।

अभिलेख गरिएका ३१ ओटा घटना मध्ये ६ ओटा घटनाका आरोपितलाई भने जिल्ला अदालत नवलपुरले सफाई दिएको र अन्य घटनाका आरोपितहरू मध्ये केहीलाई कैद सजाय फैसला भएको र केही मुद्दाहरू अदालतमा विचाराधिन रहेको डुम्रेले बताए ।

यस वर्ष जिल्लामा घरेलु हिंसाका घटनामा १४ जना, गैरराज्य पक्षबाट हत्या भएका घटनामा ६ जना, गैरराज्य पक्षबाट भएको कुटपिटसम्बन्धी घटनामा एकजना, एसिड प्रहारका कारण एकजना, बहुविवाहबाट तीनजना, मानव बेचबिखनमा एकजना र भौतिक क्षतिसम्बन्धी एउटालगायत घटनाको अभिलेख गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अध्यक्ष चेसराम आलेले मानव अधिकार उल्लङ्घनको घटना रोक्न स्थानीय तहबाटै पहल थालिनुपर्ने बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बढ्दो बलात्कारलगायतका घटना न्यूनीकरणको लागि सबै पक्ष एक हुन आवश्यक रहेको बताए । उनले न्यायिक निकायसम्म नपुग्दै घटनामा पीडित र आरोपित पक्षबीच मिलापत्र हुने र विभिन्न खाले दबाबका कारणले बाहिर घटना प्रकाशमा नआउने प्रवृत्तिलाई घटाउन आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी रमेश थापाले नागरिक समाज, राजनीतिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानव अधिकार उल्लङ्घनका घटनामा कमी आउने बताए । चेतनाको कमीले केही घटनाहरू प्रहरीमा ढिला गरी आउने गरेको अनुभव उनले सुनाए ।

मानव अधिकार सञ्जाल, नवलपुरका अध्यक्ष भुपेन्द्र खनालले पीडित पक्षको उजुरी प्रहरीले सहज रूपमा लिने वातावरण सृजना गर्न आवश्यक भएको बताए । प्रहरीमा आउने सबै उजुरी प्रहरीले दर्ता गरी अनुसन्धान थाल्नुपर्ने खनालले बताए ।

उनले भने-“झुठो उजुरी हुन सक्ने भन्दै प्रहरीले उजुरी लिन मान्दैन । जबकी झुठो उजुरी दिनेलाई पनि त कारबाही हुने कानुन छ नि ! झुठो हुन सक्ने भन्दै उजुरी दर्ता गर्न प्रहरी पछि पर्नुपर्ने कारण नै छैन ।”

तिर्थराज डुम्रे

अन्य

भिडियो