नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा कात्तिक ३० गते सम्पन्न गरिएको छ ।
सन् २०१८ को जनवरी १ देखि हालसम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३८ ओटा घटनामा १ सय ५९ जना पीडित भएको प्रतिवेदन समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको छ ।
इन्सेक सुनसरीले अभिलेख गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा ७० ओटा बलात्कारका घटना भएका छन् । जसमा ६५ ओटा बलात्कार र ५ ओटा बलात्कार प्रयासका घटना छन् ।
इन्सेकको प्रतिवेदन अनुसार सो अवधिमा ११ जनाको हत्या, चार ओटा कुटपिट, घरेलु हिंसा र बहुविवाहका २० ओटा, मानव बेचबिखनका चार ओटा, गोली प्रहारको एउटा, अपहरण एक सहित गरेर १ सय ३८ ओटा घटना छन् ।
समीक्षा कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले अधिकारसँगै कर्तव्यको पालनामा जोड दिए । एसपी अधिकारीले मानव अधिकारका क्षेत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा प्रशंसा गर्दै अधिकारसँगै नागरिक कर्तव्यमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले इन्सेकले सन् २०१८ भरका घटनाहरूलाई अभिलेखीकरण गरी नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ प्रकाशन गर्ने तयारी गरेकोमा शुभकामना दिए ।
प्रजिअ उप्रेतीले जिल्लामा राज्य तर्फबाट कुनै प्रकारको मानव अधिकारको हनन् नगरेको बरू कानुन कार्यान्वयका क्रममा घटनाहरू भएको बताए ।
सुनसरीमा बलात्कार, बलात्कार प्रयास, बाल विवाह, बहुविवाह, हत्या, महिला तथा घरेलु हिंसाजस्ता घटनाले सन् २०१८ मा समाजमा नकारात्मक असर पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समीक्षा कार्यक्रममा बोल्ने क्रममा इनरूवाका पूर्व मेयर तथा समाजसेवी गोपाल कोइरालाले आधुनिकतातर्फ जाने मानिसका कारण मानव अधिकार हनन् हुने गरेको बताए ।
कतिपय अवस्थामा राज्य कमजोर हुँदा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको कोइरालाले दावी गरे ।
कार्यक्रममा शिक्षक मञ्चका रामनारायण यादवले १ सय ३८ ओटा घटनामा १ सय ५९ जना पीडित भएको अभिलेखलाई थप प्रभावकारी बनाउन सुझाव दिए । यादवले अध्ययन र अभिलेख गरिएका घटनामा राज्यपक्षबाट भएका ६ ओटा घटना मात्रै देखिएकाले त्यसमा शिक्षा, स्वास्थ्य, खाद्य अधिकार समेतलाई समावेश गर्न सुझाव दिए ।
अधिकारकर्मी तथा साझा न्याय मञ्चका अध्यक्ष डिवी शाह विगतका हरेक समीक्षामा सङ्कलित सुझावलाई मध्यनजर गर्दै यो वर्ष पनि विभिन्न घटनाहरू सङ्कलन गरिएकोमा धन्यवाद दिँदै छुवाछुत, विभेद र अन्तरजातीय विवाह गरेको कारणले भएका घटनाहरू समेट्न इन्सेकलाई सुझाव दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले राज्यका संयन्त्र अर्थात् प्रहरी–प्रशासन, स्थानीय तहसम्म आएका मात्र नभई बाहिर आउन नसकेका घटनालाई पनि समेट्ने प्रयास गरेर इन्सेकले सार्थक काम गरेको बताए ।
जयकृष्ण यादव