पुनर्निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले समयमै भुक्तानी नपाउँदा अरूलाई पनि समस्या पर्ने डरले पुनर्निर्माणमा समस्या आएको सरोकारवालाको गुनासो छ । प्राविधिक कुरा नबुझेका र लेखपढ नभएकाहरू समेत प्रभावित भएको सरोकारवालाहरूले बताएका छन् ।
कोन्ज्योसोम गाउँपालिका–५ को भारदेउमा असोज ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरा बताएका हुन् ।
भूकम्पपछि पुनर्निर्माणको गति सुस्त भएकोप्रति स्थानीयको ध्यानाकर्षण गराउँदै कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल तामाङले सबै गाउँलेहरूले समयमै घर निर्माण गरेमा अरू विकासका काममा ध्यान दिन सजिलो हुने उल्लेख गर्दै गाउँपालिकावासीलाई घर बनाउन प्राविधिक समस्या आए वडामा खटिएका इञ्जिनियरले सहयोग गर्नुपर्ने अन्यथा नराम्रो काम गरेमा दण्डित गर्ने चेतावनी दिए ।
उनले केही गैरसरकारी संस्थाहरूले बनाइदिएका आवास मापदण्ड विपरीत भएका कारण भारदेउमा त्यस्ता संस्थाको सहयोग स्वीकार नगरेको खुलासा गर्दै प्रवलीकरणमा परेका लाभग्राहीहरूको बढी गुनासो आएकोले पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण गराएको जानकारी दिए ।
अध्यक्ष तामाङले पुनर्निर्माण प्राधिकरण र स्थानीय तहले नै पूरा अधिकार प्रयोग गरेर काम गर्न सके बैङ्कले रकम दिन गरेको ढिलासुस्ति र जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान तथा व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले गरेको ढिलासुस्तिलगायतका समस्या समाधान हुने प्रष्ट पारे ।
कोन्ज्योसोम गाउँपालिकाका प्रवक्ता एवम् भारदेउ–५ का अध्यक्ष सुबिन्द्र तामाङले व्यवहारिक रूपमा अंशवण्डा गरी समयमै कानुनी तथा कागजी प्रक्रिया मिलाउन नसक्दा पुनर्निर्माणमा समेत अप्ठेरो भएका उदाहरण प्रस्तुत गर्दै ०६८ को जनगणनामा ४ सय ३० घर रहेकोमा भूकम्पपछि ५ सय ३७ हुनुमा जनता र सरकारी निकायको समेत कमजोरी रहेको स्मरण गर्दै लाभग्राहीहरूका नाममा घरजग्गा नहुनु, विदेशमा रहेका पुरूषले पत्नीलाई मञ्जुरीनामा दिन लेखपढ नहुनु र ती समस्या समाधानार्थ स्थानीय तहले गरेको सिफारिस बैङ्क तथा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान तथा व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले स्वीकार नगर्दा समेत पुनर्निर्माणको गति अपेक्षा अनुसार अघि बढ्न नसकेको बताए ।
पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान तथा व्यवस्थापन तथा स्थानीय पूर्वाधार अनुगमन तथा मूल्याङ्कन् विशेषज्ञ यमनाथ गिरीले भारदेउमा २ सय १ लाभग्राही रहेकामा १ सय ८९ जनाले सम्झौता गरी १ सय ८७ जनाले पहिलो किस्ता लिएको स्मरण गर्दै २ सय ३० घरलाई रेक्टोफिटिङ (प्रवलीकरण) गर्न प्रविधिकले सिफारिस गरेकामा उनीहरूमध्ये धेरैले पूर्ण लाभग्राही हुनुपर्ने मागसहित गुनासो गर्दा ४ सय १२ ओटा गुनासो परेको र ती गुनासो हल गर्न वडामा कार्यरत इञ्जिनियरले प्रवलीकरण सम्भव नभएको सिफारिस गरेपछि वडामा रहेको गुनासो व्यवस्थापन समितिले मुचुल्का बनाएर गाउँपालिकामा र गाउँपालिकाले जिल्ला र जिल्लाले पुनर्निर्माण प्राधिकरणमा सिफारिस गरेपछि मात्र प्रक्रिया पूरा हुने जानकारी दिए ।
लाभग्राहीले रकम भुक्तानी ढिला पाएकोप्रति दुखेसो व्यक्त गर्दै पुनर्निर्माण प्राधिकरणको संरचना र बैङ्कहरूले लाभग्राहीप्रति उत्तरदायी नबनी नाफा कमाउन ध्यान दिँदा भूकम्प पीडित मर्कामा परेको स्वीकारे ।
कोन्ज्योसोम–५ का इञ्जिनियर विनोदबहादुर पालले भारदेउमा आफूले जिम्मेवारी सम्हाल्नुअघि तीन ओटा मात्र घर निर्माण भएकोमा १५ महिनाको अवधिमा १ सय २३ घर पुनर्निर्माण सम्पन्न भएको स्मरण गर्दै एकातिर डकर्मी तालिम लिने मान्छे नपाउने अर्कोतिर दक्ष जनशक्ति अभावमा घर बन्न नसकेका उदाहरण प्रस्तुत गर्दै कम्तिमा १२ एमएमको रड प्रयोग गरी डिपीसी र ठाडो सवलीकरणमा रड प्रयोग गरी सिमेन्ट बालुवाको जडान भएका घरहरू एक तलासम्म ढलान गर्न सकिने बताए ।

दीपकप्रसाद घिमिरे