स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय र सहकार्य हुनु पर्नेमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जोड दिए ।

चरिकोटमा साउन ९ गते इन्सेकद्वारा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले नागरिक समाजका संस्था र स्थानीय सरकारबिच समन्वय हुन सकेमा जनचेतना अभिबृद्धि, सामाजिक तथा पुर्वाधार विकासले गति लिन सक्ने बताइन् ।
सो अवसरमा उनले नागरिक समाजका संस्थालाई स्थानीय सरकारले स्थायी प्रतिपक्षको रूपमा मात्र नहेरी विकास निर्माण कार्यका लागि साझेदार निकायको रूपमा लिनु पर्ने बताइन् । स्थानीय निकायले हाल सम्पुर्ण ऐन कानुन निर्माण गरिनसकेको हुँदा नागरिक समाजका संस्थासँग सहकार्य हुन नसेकेकाले साझेदारी गर्न चुनौती र कठिनाइ भएको बताइन् ।
एफएचआई ३६० र युएसएडसँगको सहकार्यमा सञ्चालित पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाईले दोलखा जिल्लाका केही गाउँपालिकाहरूले नागरिक समाजका संस्थाले कार्यक्रम सञ्चालन गर्न चाहेमा २ प्रतिशतसम्म कर लिने भनी निर्णय भएको हुँदा नागरिक समाजका संस्थाले कर तिरेर काम गर्न नसक्ने बताए । सो अवसरमा उनले स्थानीय निकायसँग भएको स्रोत साधानलाई नागरिक समाजका संस्थामार्फत परिचालन गर्नु पर्ने बताए ।
कार्यक्रममा नागरिक समाजका संस्थाको तर्फाबाट अवधारण पत्र प्रस्तुत गर्नु हुँदै असल शासन समन्वय समिति दोलखाका अध्यक्ष दिपक बस्नेतले स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्दै आएको काम नागरिक समाजका संस्थामार्फत सञ्चालन गर्नु पर्ने बताए ।
मेलुङ गाउँपालिकाका प्रवक्ता तथा सामाजिक शाखा प्रमुख हिरा थोकरले नागरिक समाजका संस्थाले गाउँपालिकासँग समन्वय गर्न सक्ने प्रशस्तै सम्भावनाहरू भएको हुँदा यसलाई गैससहरूले उपयोग गर्नु पर्ने बताए ।
उद्धव पोखरेल