अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहाकार समितिको बैठक असोज २९ गते तौलिहवामा सम्पन्न गरिएको छ ।

बैठकमा इन्सेकले कपिलवस्तु नपा-६, तिलौराकोट र बुद्धभूमि नपा-४ बुड्ढीमा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको विषयमा छलफल अन्तरक्रिया गरिएको थियो ।
बैठकमा इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले अघिल्लो वर्षको कार्यक्रमको प्रभावकारिता र चालु वर्षको कार्यक्रम तथा बजेट सहितको योजना पेश गरेकी थिइन् ।
कार्यक्रममा कपिलवतुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रत्यक्ष रूपले स्थानीय समुदायसँग जोडिएको साथै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारले समग्र मानव अधिकारको विषयवस्तु समेटिएकोले यसको कार्यन्वयनका लागि सरोकारवाला कार्यालयलाई निर्देशन दिए ।
यस्तै स्थानीय विकास अधिकारी चन्द्रकात न्यौपानेले इन्सेक देशकै ठूलो मानव अधिकार संस्था रहेकोले समग्र मानव अधिकारकै अगुवाइ गरेकाले उठान गरेका विषयवस्तुको सम्बोधन गराउनसमेत पहल गर्न आग्रह गरे । उनले मानव अधिकार निगरानी समूहलाई अन्य गाउँपालिका तथा नगरपालिकामा समेत सञ्चालन गर्न आग्रह गरे ।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिहंले स्वास्थ्य, शिक्षालगायतका समस्या समाधान गर्न समन्वयको अभावमा कठिनाइ भएको बताए ।
कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत खुर्सेद अहमद खाँ, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि राम कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत, महिला तथा बालबालिका कार्यालय प्रतिनिधि सम्झना भण्डारी, पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, गैरसरकारी संस्था महासङ्घ कपिलवस्तु अध्यक्ष प्रविण श्रीवास्तव, मानव अधिकार निगरानी समूहकी संयोजक पुष्पा रेग्मी, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेललगायतले आ-आफ्नो भनाई तथा सुझाव राखेका थिए ।
नन्दराम पौडेल