INSEC Online

📅 २०८३ जेष्ठ २१

अश्राङमा भूकम्प पीडितको अवस्था सम्बन्धमा सार्वजनिक सुनुवाइ

भिमसेन गाउँपालिका-६ अश्राङका भूकम्प पीडितहरूले घर निर्माण गर्न निर्माण समग्री र दक्ष कामदारको अभाव भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज २८ गते वडा कार्यालयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले दक्ष कामदारको अभावमा ०७२ वैशाख १२ को भूकम्पले भत्काएका घर निर्माणलाई तीव्रता दिन नसकिएको बताएका हुन् ।

‘तीन जना प्राविधिकमा एक जना इञ्जिनियर यहाँ कार्यरत हुनुहुन्छ । उहाँले बनेका घर हेर्न पनि भ्याइ नभ्याइ छ ।’-स्थानीय ठाकुर पाण्डेले भने । ९ सय २४ घर भूकम्पले भत्किएको अश्राङमा ९ सय १ जनाले पहिलो किस्ताको ५० हजार रुपियाँ पाएका छन् । ती मध्ये १ सय ४८ घर मात्र निर्माण सुरू भएको प्राविधिक कृण महासेठले बताए ।

घर निर्माण सुरू गरेका मध्ये १ सय ३८ परिवारको दोस्रो किस्ता सिफारिस गरिएकोमा १ सय २१ घर धुरीले दोस्रो किस्ताको रकम पनि पाइसकेका महासेठले बताए । ६२ परिवारको तेस्रो किस्ता पनि सिफारिस गरिएको उनले बताए ।

भूकम्प लगत्तै बनाइएका घरहरूलाई किस्ता सिफारिसमा प्राविधिकले आलटाल गर्ने गरेको भूकम्प पीडितहरूले गुनासो गरेका छन् । कार्यक्रममा तला नभएको घरको नक्सा मात्र प्राप्त भएकाले आफुहरूलाई तला भएको घरको नक्सा उपलब्ध गराइदिन पनि भूकम्प पीडितहरूले माग गरे ।

‘तला छापे पैसा पाइँदैन भनेको छ । सरकारको ३ लाख रुपियाँ र आफूले ३ लाख रुपियाँ ऋण गरेर घर बनायो । दुई कोठे घरमा केही सामान अट्दैन ।’-खड्कबहादुर आले मगरले भने ।

पाउनै पर्ने मान्छेले अहिलेसम्म राहत रकम नपाएको एमालेका पार्टी प्रतिनिधि कालिका पाण्डेले बताइन् । ‘पाउनै पर्ने मान्छेले त राहत रकम पाउनुपर्‍यो नी !’-उनले भनिन् । कार्यक्रममा सहभागीहरू २० जनाभन्दा बढी भूकम्प पीडितले अझै पनि आफुहरूको घर लाभाग्राही सूचीमा समावेश नभएको भन्दै चिन्ता जनाएका थिए । ‘भूकम्प अघि नै अलग्गिएर बसेको हो । कच्ची ढुङ्गा माटोको घर सबै भत्किएको छ । तर, मेरो नाम लाभाग्राही सूचीमा छैन ।’-सविना खातुनले भनिन् ।

घर भत्किएर टहरोमा बस्दासमेत आफूहरूको समस्या समाधान हुन नसकेको नमुना थापाले गुनासो गरिन् ।

कार्यक्रममा भूकम्प पीडितहरूको गुनासोको जबाफ दिँदै भिमसने गाउँपालिकाकी उपाध्यक्ष विनु वाग्लेले वास्तविक भूकम्प पीडित राहत रकम पाउनबाट कुनै हालतमा पनि वञ्चित नहुने बताइन् ।

गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले छुटेका घरधुरीलाई राहत रकम उपलब्ध गराएरै छाड्ने प्रतिवद्घता जनाए । ‘पहिलो किस्ता लिनेलाई घर बनाउन प्रोत्साहन गर्छौँ । गाउँपालिकाले छुट्टै विधि बनाएर तपाइँहरूलाई घर निर्माणमा प्रोत्साहन गर्छ ।’-उनले भने ।

लाभग्राही सूचीमा छुटेका घरधुरीको निवेदन वडा कार्यलयमा दुई दिन भित्र बुझाउन पनि उनले छुट भएका भूकम्प पीडितलाई आह्वान गरे । ‘म यसै कार्यक्रममार्फत वास्तविक भूकम्प पीडित नछुटुन् भनेर गुनासो फर्म टिप्ने समय थप गर्ने प्रतिवद्घता जनाउछु ।’-उनले भने ।

हरिराम उप्रेती

अन्य

भिडियो