आवश्यक नीति नियम र निर्देशन नपाउँदा आफुहरू अलमलमा परेको स्थानीय तहमा निर्वाचित जनप्रनिधिले गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भदौ २२ गते गोरखामा सम्पन्न ‘वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्य, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।
२० वर्षसम्म कर्मचारीतन्त्रले चलाएको स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताले तुरून्तै परिवर्तनको आश गरेको भएपनि नीति र निर्देशनको अभाव हुँदा आफुहरूले सोचे अनुसारको काम गर्न नसकेको उनीहरूको भनाई छ ।
हाल स्थानीय तहलाई चुनौतीको चाङ रहेको जिल्ला समन्वय समितिका सभापति अशोक गुरुङले बताए । ‘नागरिक समाजको समन्वय सल्लाह र सुझावबाटै हामी काम गर्छौँ ।’-गुरुङले भने-‘अब समग्र जिल्लाको विकासका लागि गुरूयोजना बनाउँदै छौँ । गुरूयोजना बनाउँदा नागरिक समाजका प्रतिनिधिसँग छलफल गरेर बनाउँछौँ ।’
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले कुन जनप्रतिनिधिले कस्तो काम गरे भनेर व्यक्तिगत रूपमा कामको मुल्याङ्कन हुनुपर्ने बताए । ‘सबै जनप्रतिनिधिलाई एउटै डालोमा हालेर हेर्न भएन ।’- पन्तले भने-‘नागरिक समाजले खबरदारी पनि गराओस् । हामी सँगसँगै हातेमालो गरेर अघि बढौँ ।’
धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको क्षेत्र निर्धारणप्रति नागरिकको व्यापक असन्तुष्टि रहेकाले यसतर्फखबरदारी गर्न नागरिक समाजलाई आग्रह गरे । जनप्रतिनिधिलाई काम गर्न कर्मचारीले असहयोग गरेको भन्दै गुरुङले गुनासो गरे ।
गोरखा नगरपालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठले पदवहाली गरेको ३ महिना १५ दिन स्थानीय तहमा भएको अस्तव्यस्त मिलाउनै खर्च भएको बताइन् । सिंहदरबारको अधिकार गाउँगाउँमा आयो भने पनि सो उक्ति नारामा मात्रै सिमित भएको उनले बताइन् । ‘अहिलेसम्म कानुन आएको छैन । हामीले अधिकार पनि पाएका छैनौँ । काम गरेन भनेर मात्र भएन नि !’-उनले भनिन् ।
स्थानीय सरकारले परिवर्तन, सुशासन र पारदर्शी भएर काम गर्नुपर्ने अधिवक्ता एवम् नागरिक समाजका अगुवा स्थानेश्वर दवाडीले बताए । लामो समयसम्म जनप्रतिनिधिविहीन भएको अवस्थामा नागरिकको आशा र अपेक्षा पनि धेरै रहेकाले जनताको आशा अनुसार काम गर्न उनले जनप्रतिनिधिलाई सुझाव दिए ।
आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषदका अध्यक्ष विष्णु रानामगरले जनप्रतिनिधिले जनताले महसुस गर्ने गरी देखिने खालको काम गरेर जनताको मन जित्नुपर्ने बताए ।
हरिराम उप्रेती