INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकसँग सम्बन्धित शिक्षाको समस्याका सवालमा बुड्ढीका सरोकारवालासँग चैत २९ गते अन्तरक्रिया सम्पन्न भएको छ ।

मानव अधिकार निगरानी समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले विद्यालयको गुणस्तर खस्कँदै गएको, विद्यार्थी अनुपातमा कक्षागत शिक्षक दरबन्दी कम भएको, विद्यालयमा, नियमित अध्यापन नहुने गरेकोलगायतका गुनासो गरेका थिए ।

छात्राहरूका लागि छुट्टै शौचालय तथा महिनावारी हुँदा सेनेटरी प्याडको व्यावस्था नहुनाले विद्यालयमा अध्ययनरत बालिकालाई समस्या हुने गरेको उनीहरूको गुनासो थियो ।

सरोकारवालाहरूले उठाएका सवालहरूको समाधानका लागि पाँच बुँदे प्रतिबद्धता समेत पारित गरिएको छ ।

विद्यालयमा शिक्षक विद्यार्थी दुवैको छुट्टा छुट्टै आचारसंहिता निर्माण गरी पालना गर्ने, विद्यालयमा छात्राको सङ्ख्या छात्रको भन्दा बढी रहेको र महिनावारी हुँदा कक्षा छाड्नु पर्ने अवस्थालाई कम गराउन विद्यालयमै सेनेटरी प्याड निर्माण गर्न तालिम दिने तथा निशुल्क अथवा न्यूनतम मुल्यमा विद्यालयले उपलब्ध गराउने, विद्यालय क्षेत्रको १ सय मिटर आसपासमा सुर्तिजन्य तथा मादक पदार्थ विक्री वितरण तथा प्रयोग गर्न रोक लगाउनुको साथै शिक्षक तथा विद्यार्थीहरूले सेवन गरेर विद्यालय हाताभित्र प्रवेश निषेध गर्ने, भृकुटी मावि तथा नेपाल राष्ट्रिय निमाविमा विद्यार्थीको अनुपातमा शिक्षक नभएकोले दरबन्दीको माग गर्ने र विद्यालयमा हुने गतिविधि तथा आचार संहिता लगाएतका विषयलाई समेटेर बोर्ड बनाएर पाक्षिक रूपमा बाल अधिकार चेतना समूहको पहलमा भित्तेपत्रिका सञ्चालन गर्ने लगायतका विषयमा सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरिएको छ ।

नन्दराम पौडेल

अन्य

भिडियो