अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने एकै परिवारका तीन जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।
शहिद लखन गाउँपालिका-७ बुंकोट स्थित कोटगाउँका २९ वर्षीया लीला श्रेष्ठ, २६ वर्षीया शिला श्रेष्ठ र १८ वर्षीय राजीव श्रेष्ठलाई घरमै पुगेर पुस १४ गते नागरिकता वितरण गरिएको हो ।
तीनै जनाको शरीरको कुनै पनि भाग नचल्ने गरेको उनीहरूका बावु धनबहादुर श्रेष्ठले बताए । उनका अनुसार लीला र राजीव उठ्न समेत नसक्ने अवस्थामा छन् भने शिला घस्रिएर हिँड्न खोज्ने प्रयास गरेपनि हिँड्न सक्दिनन् । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय ल्याउने प्रयास गरेपनि तीन जनालाई लान नसकेको उनीहरूका बावु धनबहादुरले बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठको टोली नागरिकता वितरणका लागी बुंकोटस्थित घरमै पुगेका हुन् ।



