मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न पुस २८ गते गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव भैरवप्रसाद गेलालको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित एक कार्यक्रमकाबिच सिरहाको लहानमा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो ।
समूहको सहसंयोजकमा मुक्ति नेपालकी रेणु कर्ण, सदस्यहरूमा मानव अधिकार संरक्षण केन्द्रकी संयोजक गङ्गा अधिकारी, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष जिवछी यादव, नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव जिवछ यादव, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका जिल्ला अध्यक्ष मोहन पासवान, क्रियाशील महिला पत्रकारकी कोषाध्यक्ष एलिना हिमाङ्ग, अपन दैनिकका सम्पादक शुभनारायण कामती, रेडियो सरगमका सञ्चालक फिरोज शेख, अपाङ्ग पुनःस्थापना केन्द्रका मन्सी साह र मेलमिलाप तथा विकास केन्द्रका गङ्गाराम यादव रहेका छन ।

समूह गठनपछि बोल्दै संयोजक गेलालले समूहले आगामी दिनमा जिल्लाको मानव अधिकारसँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउन पहल गर्ने बताए । उनले जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे सर्वसाधारणलाई सचेत गराउने र जिम्मेवार निकायलाई जबाफदेही बनाउन दबाव सिर्जना गर्ने बताए ।
दुर्गा परियार