जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सुरुको तुलनामा मानव अधिकार वर्षपुस्तकको आकार पातलिँदै आएको सन्दर्भमा घटना सङ्कलनमा अल्छी गरेर घट्ने स्थिति नहोस् भनी सुझाव दिएका छन् । इन्सेकले आयोजना गरेको सन् २०१६ को जनवरीदेखि एक वर्षको अवधिमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

इन्सेकले दैलेखमा सङ्कलन गरेका घटनाहरूमा बलात्कारका १० ओटा, बहुविवाहका नौ ओटा, हत्यका दुई ओटा, घरेलु हिंसाका २४ ओटा, जातीय विभेदका चार ओटालगायतका रहेका छन् ।

इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्षपुस्तकले राज्यका निकाय र समाजमा सचेतना बढाएबाट पनि मानव अधिकार प्रवर्धनमा सहयोग पुर्याएको जिल्ला न्यायाधीश पण्डितले बताए ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भुवनेश्वरप्रसाद साहले कानुनले अधिकार दिएको बाहेक अरु मुद्दामा प्रहरीले मिलापत्र नगराएको बताए । उनले प्रहरी अनुसन्धान सुरु भई अदालत पुग्ने सबैजसो फौजदारी मुद्दा सफल भएबाट पीडितले न्याय पाएको र अनुसन्धान अधिकृतको हैसियतले आफूलाई पनि गौरव लागेको सुनाए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष नमनकुमार शाहीले ग्रामीण बस्तीमा मानव अधिकार हनन्का घटनादेखि कानुनी प्रक्रियामा नआएका घटनासमेत समेटिएकोमा सन्तोष व्यक्त गर्दै राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनाको खोजीमा जोड दिन सुझाव दिए ।
अमर सुनार