घरेलु हिंसाका घटना सङ्ख्यात्मक रूपमा धेरै घट्ने गरेको भएतापनि ती घटनाहरू समाधान गर्ने निकायसम्म आउन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि गोरखा जिल्लामा सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले घरेलु हिंसाका साथै बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गरका हुन् ।
मङ्सिर ३० गते सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले महिला हिंसाका घटना धेरै घटिरहेको कारण ती उठान गर्नुका साथै घटनाको न्यूनिकरणमा पनि ध्यान दिनुपर्ने बताए ।
पीडितलाई आफू घरेलु हिंसामा परेँ भन्ने बारेमा थाहा भएपनि इज्जत र प्रतिष्ठाका कारण अझै घटना लुकाउने क्रम यथावतै रहेको जिल्ला प्रहरी कार्यलय गोरखा प्रमुख एसपी जनकराज पाण्डेयले बताए । पूर्ण रूपमा उजुरी नआए पनि महिला सेलमा घरेलु हिंसाका घटना पहिलेको तुलनामा धेरै आउन थालेको एसपी पाण्डेयले जानकारी दिए ।
घरेलु हिंसा र बलात्कारका घटना न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मानव अधिकार एलाइन्सका ऋषि खनालले बताए । त्यसैगरी ०७२ वैशाख १२ गतेको भूकम्प पछि स्थानीयहरूको जनजीवन कष्टकर बनेकोमा पनि अधिकारकर्मीले चिन्ता व्यक्त गरे ।
भूकम्प गएको १८ महिना बित्दासमेत पुनर्निर्माण तीव्र गतिमा सञ्चालन हुन नसकेका कारण टहरोमा बसेका ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीको अवस्था दयनीय भएकोमा काहुराष्टका अध्यक्ष किशोर रेग्मीले चिन्ता व्यक्त गरे ।
जिल्लामा सन् २०१६ भित्र गोरखा जिल्लामा अभिलेखीकरण गरिएका ३३ ओटा घटनाहरूको पूर्व समीक्षा गरिएको थियो । पूर्व समीक्षा कार्यक्रममा पत्रकार, नागरिक समाज, मानव अधिकारका क्षेत्रमा जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
हरिराम उप्रेती