INSEC Online

📅 २०८३ जेष्ठ २१

दोलखामा मानव अधिकार अवस्थाबारे छलफल

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर दोलखामा मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र  मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपालले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था विषयक अन्तरक्रियामा इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलले मानव अधिकारको वर्तमान अवस्थाको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

photo20161210dolakha

सो अवसरमा इन्सेक प्रतिनिधि पोखरेलले यस वर्ष दोलखामा सबैभन्दा बढी महिला हिंसाका घटना भएको जानकारी गराएका थिए । यो वर्ष दोलखामा बलात्कारका ११ ओटा, बहुविवाहका दुई ओटा, कथित बोक्सीको आरोपमा एक ओटा, बालविवाह एक ओटा घटना भएको पोखरेलले जानकारी दिए । इन्सेकमा अभिलेखित घटना मध्ये १८ वर्षमुनिका पाँच बालिका बलात्कृत भएको उल्लेख छ ।

अन्तरक्रिया कार्यक्रममा सांसद आनन्दप्रसाद पोखरेलले आर्थिक, सामाजिक तथा सांस्कृतिक, शैक्षिकलगायत सबै पक्षबाट समृद्ध हुन सके मात्र मानव अधिकारको सबैले उपभोग गर्न सक्ने बताए । नेपाल सबैखाले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्ने मुलुक भएको भएपनि कार्यन्वयन पक्षमा फितलो रहेकोमा उनले चिन्ता व्यक्त गरे ।

photo20161210dolakha1

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा सबै पक्षको महत्वपूर्ण भूमिका रहने र मानव अधिकारको सबै नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले प्रहरीले मानव अधिकारको संरक्षण र सम्मान हुने गरी कार्यसम्पादन गर्दै आएको बताए ।

यसैगरी दोलखाका सहायक न्यायाधिवक्ता कैलाश दाहालले मानव अधिकारको सन्देशलाई गाउँ टोलसम्म पुर्‍याउनु पर्नेमा जोड दिँदै कुनै एक पक्षले मात्र मानव अधिकारको संरक्षण गर्न नसकिने बताए ।

उद्धव पोखरेल

अन्य

भिडियो